बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याइँदैन : मन्त्री चौरसिया

'गलत' सम्बन्धबाट जन्मिएको सन्तानको अधिकारका लागि कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको मन्त्री चौरसियाको दाबी छ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Laws will not be introduced to encourage polygamy: Minister Chaurasia

What you should know

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी काननु नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सरकारले 'गलत' सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानुन संशोधन गर्न लागेको मन्त्री चौरसियाको दाबी छ । मस्यौदा मन्त्रीपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न उनले आग्रह गरेका छन् । 

सरकारले मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन लागेको छ । विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको हो ।

कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको छ । दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

के भने मन्त्री चौरसियाले ?

जुन मस्यौदा तयार भएको छ, त्यसमा बहुविवाहको कुरा छैन । गलत सम्बन्धबाट (गलत नै भनौँ, महिलाले पुरुषलाई र पुरुषले महिलालाई ढाँटेको सम्बन्धबाट) गर्भ रहन गएको अवस्थामा त्यो बालअधिकारको लागि कानुनमा संशोधन भएको छ । त्यो संशोधनले वा त्यो संशोधन गर्न नपर्ने हो भने त्यो पनि हटाइदिउँ । पुरुषले ढाँटेर महिलासँग सम्बन्ध राखेको मात्रै होइन महिलाले पनि ढाँटेर पुरुषसँग सम्बन्ध राखेको भए दुवै कानुनको भागिदार बनाउने गरी कानुन बनाउने हो । दुवैको मन नभए कुनै काम हुँदैन । बहुविवाहलाई निस्तेज पार्नको लागि जसरी पुरुषलाई कारबाही गर्ने व्यवस्था छ, त्यसैगरी महिलालाई पनि कारबाही हुन्छ । बच्चाको अधिकारको कुरा हो । उसको कुनै गल्ती छैन, उसलाई किन सजाय दिने । उसको हाडनाता कायम गर्ने कि नगर्ने ? पुरुषले नै ढाँटेर गरेको छ भने त्यो महिलाको लागि क्षतिपूर्ति भराउने कि नभराउने ? पर्याप्त क्षतिपूर्ति भराउने व्यवस्था संशोधनका लागि गएको छ । बहुविवाहलाई प्रोत्साहन गर्ने गरी होइन । हाम्रो घरमा छोरीबेटी छैनन् ? महिलालाई भोलि गाह्रो हुनेगरी कानुन लगिदिन्छौँ ? शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो पनि हामी संशोधन गर्दछौँ ।

कान्तिपुर संवाददाता

Link copied successfully