काठमाडौं अदालतले यौन दुर्व्यवहार आरोपमा राजेश झा अहिराजलाई डिल्लीबजार कारागार पठाउन आदेश जारी गरेको छ।
What you should know
काठमाडौँ — यौन दुर्व्यवहार कसुरमा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश झालाई थुनामा पठाउन अदालतको आदेश, नागरिक उन्मुक्ति पार्टीको अनुशासन समितिद्वारा अध्यक्ष रञ्जितालाई कारबाही गर्ने निर्णय, त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो, त्रिशूली–काठमाडौं प्रसारण लाइनको स्टेसनमा क्षति, बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचितदेखि १६ वर्ष नपुगेकाले अस्ट्रेलियामा युट्युब चलाउन नपाउनेसम्मका खबर आज चर्चामा रहे ।
०००००
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनी यौन दुर्व्यवहार कसुरमा साउन ४ गते पक्राउ परेका थिए ।
०००००
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए। आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको ती सदस्यले बताए।
०००००
बुधबार बिहानदेखि भोटेकोशीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
०००००
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा (तामाङ) लाई पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गरे भने लामाको पक्षमा १४ मत परेको निर्वाचन समितिले जनाएको छ ।
०००००
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो ।
