१६ वर्ष नपुगेकाले अस्ट्रेलियामा युट्युब चलाउन नपाउने

नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको छ ।

श्रावण १४, २०८२

नारायण खड्का

People under 16 cannot use YouTube in Australia

What you should know

अस्ट्रेलिया — अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ ।

यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो । 

डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका बारेमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सूचनामन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।  

सरकारले घोषणा गरेको प्रतिबन्धअन्तर्गत युट्युबमा उमेर अनुकूलको भिडियो हेर्न भने पाइनेछ तर आफ्नो नाममा खाता सञ्चालन गरेर भिडियोलगायतका सामाग्री राख्न पाइनेछैन । सरकारले गत वर्षको नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई टिकटक, फेसबुक, स्नापच्याट, एक्स चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर उक्त समयमा युट्युबलाई भने उक्त प्रतिबन्धमा राखिएको थिएन । तर अहिले आएर सरकारले युट्युबलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विश्वमै पहिलो भनिएको ‘एज रेस्ट्रिक्टेड सोसल मिडिया प्लेटफर्म’ कानुनअनुसार तोकिएको उमेरमुनिका बालबालिकालाई खाता खोल्न नदिन आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक रूपमा हानी पुर्‍याइरहेको बताएका छन् । ‘हामी अभिभावकलाई भन्न चाहन्छौँ कि हामी उनीहरुको साथमा छौँ,’ उनले भनेका छन् । अस्ट्रेलियाकी सञ्चारमन्त्री वेल्सले अस्ट्रेलियाले आफ्ना बालबालिकालाई सुरक्षित राख्ने प्रयास गरेको बताएकी छिन् । अनलाइनमार्फत खेलिने खेल, म्यासेज आदानप्रदान र शिक्षा तथा स्वास्थ्यसम्बन्धी एपहरूलाई भने यो प्रतिबन्धमा समावेश गरिएको छैन । 

प्रतिबन्ध गरिएका कम्पनीले यदि कानुन पालना नगरेको पाइएमा ५ करोड अस्ट्रेलियन डलरसम्म लगाउन सकिने जनाइएको छ । अस्ट्रेलियास्थित ई-सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार २ हजार ६ सय बालबालिकामा गरिएको सर्वेक्षण दस जनामा चार जना बालबालिकाले हानी पुर्‍याउने सक्ने सामग्रीको सामना गर्नुपरेको समाचार माध्यमहरूलाई बताएकी छिन् । 

सेन्टर फर एक्सेलेन्स इन चाइल्ड एन्ड फ्यामिली सर्भिसले ई-सेफ्टी कमिसनले हालै सार्वजनिक गरेको रिपोर्टमा  १३ देखि १५ वर्षका ९५ प्रतिशत बालबालिकाले गत वर्ष सामाजिक सञ्जाल प्रयोग गरेका थिए । यसैगरी ८ देखि १२ वर्षका १३ लाख बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेका थिए जसमा ३६ प्रतिशतको आफ्नै खाता रहेको थियो भने ५४ प्रतिशतले आफ्ना अभिभावकको खाता प्रयोग गरेका थिए । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully