नेपालमा बाघको संख्या कतिसम्म उपयुक्त ?

आहारा प्रजाति र बासस्थानको अवस्था हेर्दा अहिले पनि नेपालमा ५ सय हाराहारी बाघको व्यवस्थापन गर्न सकिने संरक्षणकर्मीको भनाइ

श्रावण १३, २०८२

मनोज पौडेल, दीपेन्द्र बडुवाल, भवानी भट्ट

How appropriate is the number of tigers in Nepal?

What you should know

काठमाडौँ — सन् २०२२ को राष्ट्रिय गणनामा नेपालमा बाघको संख्या ३ सय ५५ छ । २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशका प्रमुखहरुले २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । त्यतिबेला नेपालमा बाघको संख्या १ सय २१ थियो ।

नेपालले प्रतिबद्धता गरेभन्दा बाघको संख्यामा राम्रो वृद्धि भयो । बेलाबेला निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासमा बाघले आक्रमण गरेर मानिसको ज्यानै जाने तथा घरपालुवा जनावर समेत लैजाने गरेका कारण द्वन्द्व पनि बढ्दै गएको छ । यही विषयलाई लिएर गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनेर दिएको अभिव्यक्ति निकै चर्चामा रहेको थियो । वन तथा वातावरण मन्त्रालयले कोप–१९ को समीक्षाका लागि गत पुस ११ गते आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएका थिए । उनले जंगलमा मात्रै होइन गाउँबस्तीमा बाघ छ कि भनेर सजग भएर हिँड्नुपर्ने बेला आएको भनेका थिए । उनले नेपालमा बाघ साढे ३ सय होइन डेढ सय मात्रै बाघ भए पुग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले त्यस्तो भने पनि आहारा प्रजाति र बासस्थानको अवस्था हेर्दा अहिले पनि नेपालमा ५ सय हाराहारी बाघको व्यवस्थापन गर्न सकिने संरक्षणकर्मी बताउँछन् ।

२०२२ को गणना अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । त्यसपछि बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ बाघ रहेका छन् । आहारा प्रजाति उपलब्धताका हिसाबले अझै डेढ सय हाराहारी बाघ व्यवस्थापन गर्न सकिने विज्ञ बताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको अध्ययन अनुसार आहारा प्रजातिको उपलब्धताका हिसाबले चितवनमा १३६, पर्सामा ३९, बर्दियामा १३३, बाँकेमा २८ र शुक्लाफाँटामा ५८ गरी ३ सय ९४ बाघको व्यवस्थापन गर्न सकिन्छ ।

‘यो त निकुञ्जमा मात्रै हो, यसबाहेक मध्यवर्ती क्षेत्र, करिडोर र आसपासको वन क्षेत्रमा गरी अझै बढी बाघको व्यवस्थापन गर्न सकिन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले भने, ‘आहारा र बासस्थानका हिसाबले अझै एक सय हाराहारी बाघको व्यवस्थापन गर्न सकिने देखिन्छ । बाघ बढ्दैमा मानवसित द्वन्द्व बढ्छ भन्ने कहीँकतै अध्ययनले देखाएको छैन ।’

सन् २०१९ मा चितवन–पर्सा कम्पलेक्समा गरिएको अध्ययन अनुसार आहारा प्रजातिको घनत्व चितवनमा प्रतिवर्ग किलोमिटरमा ७१ र पर्सामा ३० रहेको छ । यसैगरी बर्दियामा र बाँकेमा आहारा प्रजातिको घनत्व क्रमशः ६९ र २५ रहेको छ । २०२२ को राष्ट्रिय बाघ गणनाकै आधारमा हेर्ने हो भने शुक्लाफाँटामा आहारा प्रजातिको घनत्व देशकै सबैभन्दा उच्च प्रतिवर्ग किलोमिटर १४६ आहारा रहेको पाइन्छ ।

How appropriate is the number of tigers in Nepal?

पछिल्लो समय बाघले मानिसमाथि आक्रमण गर्ने तथा कतिपय बस्तीमै पस्ने गरेका कराण स्थानीयले दु:ख पाउने गरेका छन् । यसले समेत बाघको संख्या धेरै बढेर समस्या भएको भन्ने गरिन्छ । तर चितवनमा गरिएको अध्ययन अनुसार बाघले मानिसमाथि आक्रमण गरेका ७५ प्रतिशत घटना जंगलभित्रै भएको इकोलोजिष्ट आचार्य बताउँछन् । ‘तीन/चार प्रतिशत बाघ मात्रै समस्याग्रस्त हुन्छन्, तिनै बस्तीमा पस्ने जोखिम पनि हुन्छ,’ यसका लागि व्यवस्थापन योजना त्यहीँ अनुसारको बनाउनुपर्छ ।’ उनका अनुसार बाघ बुढो भएमा सिकार गर्न नसकेर सजिलो सिकारको खोजीमा बस्तीतिर पस्ने गर्छ । यसैगरी भरखर हुर्केको बाघ पनि क्षेत्र (टेरिटोरी) बिस्तारका क्रममा बस्तीतिर पुग्न सक्छ । केही कारणले घाइते भएको बाघ पनि सजिलो सिकारको खोजीमा बस्तीतिर पस्न सक्ने उनले बताए ।

बाघ विशेषज्ञ डा. बाबुराम लामिछाने अहिलेको अवस्थामा आहाराका कारण बाघलाई समस्या परेको नदेखिएको बताउँछन् । नयाँ जन्मेका र बुढा बाघ निकुञ्ज बाहिर जाँदा समस्या देखिएको उनले बताए । ‘निकुञ्ज भित्रै बाघ बसिरहोस् भन्नका लागि तिनीहरुको बासस्थान व्यवस्थापन गर्नुपर्छ । कहीँ खुला र कहीँ आहारा पाइने घाँसे मैदान र कहीँ लुक्न सक्ने घाँसै मैदान बनाउनुपर्छ । उता बाघले पनि लुकेर शिकार गर्न सक्ने बनाउनुपर्छ,’ लामिछानेले भने ।

०००

पछिल्लो तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि घट्दै गएको छ । पछिल्लो ७ वर्षमा मुलुकभर बाघको आक्रमणबाट मात्र ७५ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषको तथ्यांक छ । ०८१/८२ मा बाघको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

०८०/८१ मा १० जना र २०७९/८० मा १२ जनाको बाघ आक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै २०७८/७९ मा २१ जना र २०७७/७८ मा १३ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । ०७६/७७ मा ८ र ०७५/७६ मा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको तथ्यांक छ । बासस्थान संरक्षण र ब्यवस्थापन, आहारा प्रजातिका वन्यजन्तुको बृद्धि, चोरीसिकार नियन्त्रण, राष्ट्रिय निकुन्जको विस्तार र भारतसँगको वन्यजन्तु कोरिडोर निर्माणले बाघको संख्या बृद्धिमा सहयोग पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदस्य सचिव डा. नरेश सुवेदीले बताए । 

How appropriate is the number of tigers in Nepal?

अपेक्षाअनुसार बाघ बढे पनि अवसरसँगै चुनौती पनि थपिएका छन् । ‘अब विदेशी पर्यटकलाई बढीभन्दा बढी बाघ देखाएर फाईदा लिन सक्नु पर्छ । बाघका लागि धेरै खर्च गर्ने खर्चालु पर्यटक पनि छन्,’ उनले भने, ‘तिनलाई लक्षित गरी योजना बनाएर स्थानीयदेखि मुलुकसम्मले फाईदा लिनुपर्छ ।’

००० 

सामान्यतया जंगलमा एउटा भाले बाघले ५० र बघिनीले ३० वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो बनाएर बासस्थानको रूपमा प्रयोग गर्ने मान्यता रहेको पढे पनि अहिले पूरै फरक पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले बताए । बर्दिया निकुञ्जमा भने एउटा बाघका लागि ७ देखि ८ वर्ग किलोमिटरमा बासस्थान छ । बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमटिरमा फैलिएको छ । यहाँ १ सय २५ वटा बाघ छन् ।

‘एउटा बाघसँग तीन वटा बघिनी बस्न सक्छ भन्ने कुरा सिद्धान्तत: मिलेन,’ उनले भने, ‘आफ्नो बासस्थानमा अन्य बाघ–बघिनी आएर बस्न खोजे झगडा पर्छ । पुरानोले आफ्नो क्षेत्र छाड्न चाहँदैन तर लडाइँमा पराजित हुनेले बासस्थान र आहाराका लागि नयाँ ठाउँ खोज्नुपर्छ ।’

सामान्यतया एउटा बघिनीले दुईदेखि चार बच्चा जन्माउँछे । एउटा बाघले दुई वटा डमरु बचाउन सके पनि १० वर्ग किलोमिटरमा ६ डमरु, तीन बघिनी र एउटा बाघ गरी १० वटा बाघ बसिरहेको अवस्था छ । किन थोरै क्षेत्रमा धेरै बाघ बसिरहेका भन्ने अध्ययन हुनु जरुरी रहेको उनी बताउँछन् । ‘पहिले बाघ एक्ला एक्लै बस्छन् भन्ने थियो । अहिले त्यो अवस्था रहेन । उनीहरु परिवारमै बसेको अवस्था देखिएको छ । बाघको आनीबानीमा परिवर्तन भएर हो वा अन्य कुनै कारणले हो त्यसको अनुसन्धान जरुरी छ,’ वार्डेन राम भन्छन् ।

How appropriate is the number of tigers in Nepal?

बाघको डमरु दुई वर्षमा आमा बराबरको हुन्छ । दुई वर्षपछि मात्रै डमरु आमालाई छाडेर आफ्नै टोरिटोरी बनाएर बस्न थाल्छ । आफ्नो टोरिटोरी बनाउने क्रममा पोथी बाघ भए पहिलो लडाइँ आमासँग, भाले छ भने बाउसँग हुन्छ । सके मार्छ नभए त्यसलाई धपाएर आफ्नो क्षेत्र बनाएर बस्छन् । फेरि त्यहाबाट धपाइएको अर्को क्षेत्रमा जान्छ । त्यहाँ पनि बाघ बसेको हुन्छ । फेरि त्यहाँ पनि लडाइँमा कि मार्छ, नभए रिप्लेस हुन्छ । यसरी ठाउँ छोडदा छोड्दै लडाइँ हार्ने बाघ निकुञ्जको छेउछाउ पुगेर घरपालुवा चौपाया खान्छन् । त्यहाँसम्म पुग्दा बाघ बिरामी, बुढो र अशक्त भइसक्ने हुँदा गाउँ पसेर दुःख दिने वार्डेन राम बताउँछन् ।

बाघले रूखमा कोतरेर, दिसापिसाब गरेर सांकेतिक रुपमा सीमाना निर्धारण गर्छ । त्यो सिमानाभन्दा बाहिर अन्य बाघको सिमानामा तिनीहरू सकेसम्म प्रवेश समेत गर्दैनन् । बघिनीले डमरु हुर्काउन निक्कै सावधानी र चलाखी अपनाउने गर्छ ।

बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र बासस्थान सुधारको विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिस घाँसदाउरा गर्न, सागपात टिप्न र गाइभैंसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व रोकथामका गर्न वनजंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने र स्थानीयलाई वन्यजन्तु संरक्षण र माया गर्न आनीबानीमा परिवर्तन हुने कार्यक्रम संचालन गर्न लाग्नु पर्नेमा संरक्षणकर्मीको सुझाव छ ।

बाघको संख्या बृद्धिसँगै मानव वन्यजन्तु द्वन्द्वका घटना पनि हुने गरेका छन् । कञ्चनपुरमा दुई वर्षयता भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएको बाघले बेलौरीमा एक महिलाको र भारत उत्तरप्रदेशको पिलिभित क्षेत्रबाट आएको बाघले आक्रमण गर्दा दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको थियो । ‘संख्या बृद्धिसँगै हामीले बासस्थान र आहारा व्यवस्थापनमा पनि हामीले जोड दिनुपर्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोतम वाग्लेले भने, ‘निकुञ्ज भारतसँगै जोडिएका कारण त्यहाँका संरक्षित क्षेत्रबाट आएका बाघका कारण समेत यहाँ बस्तीमा द्वन्द्व भइरहेको छ ।’ शुक्लाफाँटापारि भारतको पिलिभित क्षेत्रमा उखुबारीमै बस्ने बाघको संख्या ठूलो छ । तिनले उखुबारीमा बच्चा हुर्काउने र सिकारको खोजीमा बस्तीमा पसेर मानिसमाथि आक्रमण गर्ने गरेको उनले बताए ।

(सबै तस्बिर : चुङ्बा शेर्पा)

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

दीपेन्द्र

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully