What you should know
काठमाडौँ — मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय, सर्वोच्चमा विचाराधीन जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिमा छलफल, भोटेकोशी बाढीले अलपत्र परेका २०३ नेपालीलाई स्वदेश ल्याइयो, बयान दिन अख्तियार पुगिन् नाउपा अध्यक्ष श्रेष्ठदेखि गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्युसम्मका खबर आज चर्चामा रहे ।
००००
मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो ।
००००
जगदुल्ला हाइड्रोपावरबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेला सार्वजनिक लेखा समितिमा छलफल चलाइएकोप्रति सांसदहरूले आपत्ति जनाएका छन्। १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पाउन चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ९जेसीई० ले फर्जी कागजात पेस गरेको विषयमा परेको उजुरीबारे समितिको बैठक बसेको थियो। बैठकमा सांसदहरूले उक्त विषय न्यायालयमा पुगेको हुँदा छलफल गर्नु उपयुक्त नहुने बताएका थिए।
००००
भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याइएको छ । चीनको परराष्ट्र विभागले उनीहरुलाई केरुङबाट तातोपानी मितेरी पुलमा ल्याएर अपराह्न सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो ।
००००
पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेकी छिन् । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो ।
००००
इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ । गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरुको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
