भोटेकोशी बाढीले अलपत्र परेका २०३ नेपालीलाई स्वदेश ल्याइयो 

श्रावण ७, २०८२

ऋषिराम पौड्याल

203 Nepalis stranded by the Bhotekoshi flood were brought home

What you should know

काठमाडौँ — भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याइएको छ । 

चीनको परराष्ट्र विभागले उनीहरुलाई केरुङबाट तातोपानी मितेरी पुलमा ल्याएर अपराह्न सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो । रोजगारीका सिलसिलामा गएकाहरु, चालकलगायतका नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा केरुङबाट तातोपानी नाका ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

उनीहरुलाई खाने र काठमाडौँ जाने यातायातको व्यवस्था बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपलिक र अरनिको यातायातले गरेका छन् । 

गत २४ को भोटेकोशीको बाढीका दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बतर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरुलाई अहिलेसम्म खानेबस्नेलगायतका सुविधा दिएर राखेको जानकारी रसुवाका प्रजिअ पौडेलले दिए । 

उनीहरुलाई पनि तातोपानी नाकाबाट ल्याउन लागिएको छ । बाढीका दिन उनीहरुमध्ये कतिपय चालक कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए ।   

गृहमन्त्री रमेश लेखकले केरुङमा अड्कीएर आउन चाहनेलाई नेपाल ल्याउन तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई समन्वय गर्न निर्देशन दिएका थिए । गृह निरन्तर प्रयासपछि ल्हासास्थित वाणिज्यदूत लक्ष्मी निरौलाले केही दिनदेखि चिनियाँ अधिकारीहरुसँग समन्वय गरिरहेका थिए । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको थियो । सहमति अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिले नेतृत्व गरेर उनीहरुलाई तातोपानी ल्याउन लागेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

तिब्बतको न्यालम प्रशासनले ल्याएका नेपालीलाई नेपाल सरकारका प्रतिनिधिका रुपमा सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनको टोलीलाई जिम्मा दिने कार्यक्रम छ । 

केरुङबाट रसुवा नाका भएर नेपाल आउन मितेरी पुल पूर्ण रुपमा बगाएको छ भने नेपालतर्फ यातायात सञ्चालनमासमेत कठिनाइ रहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमाल सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले आफ्ना कर्मचारी र मजदुर केरुङमा अड्कीएकोमा उद्धारका लागि सरकारलाई अनुरोध गर्दै आएको थियो ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully