विस्थापित गर्ने घोषणाको एक दशक : तुइनबाट खसेर ज्यान जाने क्रम रोकिएन

मुलुकलाई तुइनमुक्त बनाउने मन्त्रिपरिषद् निर्णय भएको दशक बित्दा पनि कर्णाली र सुदूरपश्चिमका दर्जनभन्दा बढी स्थानमा तुइनबाट नदी वारपार गर्नुपर्ने बाध्यता हटेको छैन, तुइन तर्दा मानिस नदीमा खसेको खबर बर्सेनि आइरहेकै छ

श्रावण ४, २०८२

कृष्णप्रसाद गौतम, विप्लव महर्जन, मनोज बडू

A decade of evacuation announcements: The death toll from falling from Tuin has not stopped

What you should know

दार्चुला/सुर्खेत/सल्यान — केपी शर्मा ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट गरेको पहिलो निर्णय थियो– मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने । यो निर्णय भएको दशक बित्दा पनि कर्णाली र सुदूरपश्चिमका दर्जनभन्दा बढी स्थानमा तुइनबाट नदी वारपार गर्नुपर्ने बाध्यता हटेको छैन । तुइन तर्ने क्रममा खसेर नदीमा बेपत्ता भएको समाचार बर्सेनि आइरहेकै छ ।

पछिल्लो पटक गत मंगलबार दार्चुलाको व्यास गाउँपालिका–२ का २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइन तर्ने क्रममा खसेर महाकाली नदीमा बेपत्ता छन् । किनमेलका लागि भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम हिँडेका उनी तुइन बाँधिएको भारतपट्टिको खम्बा भाँचिँदा नदीमा खसेका थिए । गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए । अघिल्लो वर्ष स्थानीय सचिन बुढाथोकी तुइन तर्ने क्रममा महाकालीमा खसे । 

व्यास गाउँपालिकामा तुइन तर्दा महाकालीमा खसेर बेपत्ता र मृत्यु भएकाको संख्या २०५० सालयता २३ छ । तीमध्ये व्यास–२ दुम्लिङका मात्रै २० जना रहेको वडा कार्यालयको तथ्यांक छ । ‘२०७८ मा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएपछि हामीले हाम्रै वडा, अन्य वडाको तथ्यांक संकलन गरेका थियौं, त्यसमा सबैभन्दा धेरै हाम्रै वडाका नागरिक परेको पाइयो,’ व्यास–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले भने । 

वडा कार्यालयका अनुसार नेपालको दुम्लिङ र भारतको घट्टेबगड जोड्ने तुइनबाट ओहोरदोहोर गर्ने क्रममा ३२ वर्षयता व्यास–२ का सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, विनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी र विमला जोहारी महाकालीमा खसेर बेपत्ता छन् । यस्तै, सचिन बुढाथोकी, जसपाल लोहार, भवानसिंह कुँवर, किस्मा धामी, देवसिंह धामी, ईन्द्रसिंह धामी, भूपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, बसन्ती कामी, रोहित कामी, जयसिंह धामी र नारायण बुढाथोकी महाकालीमा बेपत्ता छन् । यसबीचमै तुइन तर्दा खसेका सुन्दरसिंह भण्डारी (सिन्दल) को भने शव भेटिएको थियो । 

महाकाली नगरपालिकाका बिरा लोथ्याल, हुम्लाका कैलाश लामा र भारतको गर्भाधारका महिमन गर्ब्याल पनि तुइनबाट खसेर बेपत्ता रहेको वडा कार्यालयले जनाएको छ । व्यासका सबैजसो ठाउँमा धेरै वर्षदेखि तुइनबाटै वारपार गरिने भएकाले अन्य वडामा पनि महाकालीमा बेपत्ता भएका हुन सक्ने वडाध्यक्ष बुढाथोकीले बताए । तर अन्य वडा तथा प्रहरी कार्यालयमा यसबारे तथ्यांक राखिएको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर रावलका अनुसार २०७८ यताको तथ्यांक मात्र उपलब्ध छ । 

दार्चुलामा जिल्ला सदरमुकाम खलंगादेखि माथिल्लो क्षेत्रका बासिन्दा अझै तुइनबाटै महाकाली नदी तर्छन् । उनीहरू सदरमुकाम आउनसमेत तुइनबाट महाकाली तरेर भारतीय बाटो प्रयोग गर्छन् । स्थानीयले व्यास–२ र ५ का विभिन्न स्थानमा महाकाली तर्न डोरी (बाबियो वा प्लास्टिकको) वा फलामको तार वारिपारि बाँधेर तुइन बनाएका छन् । 

व्यास–५ मा स्याकु र नाजी तथा व्यास–२ दुम्लिङ क्षेत्र कल्जुमा तुइनबाट महाकाली तर्ने गरिएको छ । झोलुंगे पुल पुग्न २ देखि ३ घण्टा समय लाग्ने हुँदा बस्ती नजिककै बासिन्दाले तुइन राख्ने गरेको व्यास–२ का वडाध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकाका सबै क्षेत्रमा सडक पहुँच नहुँदा स्थानीयले जिल्ला सदरमुकाम आउजाउ गर्न वा उपभोग्य वस्तु किनमेल तथा औषधि उपचारका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

५/७ वर्ष अगाडि नेपाल–भारत जोड्ने झोलुंगे पुल नबन्दासम्म व्यासको बडुगाउँदेखि बुदीसम्म दर्जनभन्दा बढी ठाउँमा तुइन हालिएको थियो । अहिले बडुगाउँ, तिग्रम, मल्घट्टे र मालमा झोलुंगे पुल बनेका छन् । व्यासको नेपाल–भारत सीमा जोड्ने सीतापुलमा दशकौं पुरानो काठेपुल छ । 

धौलाकोटको स्याकु, दुम्लिङ र बुदीमा पुल आवश्यक रहेको व्यास–५ का वडाध्यक्ष वीरसिंह धामीले बताए । स्याकु र नाजीका महाकाली किनारका बस्तीबाट तिग्रम वा मल्घट्टे पुल पुग्न ३ घण्टाभन्दा बढी लाग्छ । तुइन तरेर गए ३ घण्टामा सदरमुकाम पुगिने भएकाले स्थानीयले महाकालीको भेलमा जोखिम मोल्ने गरेको उनले सुनाए । व्यास–२ का वडाध्यक्ष बुढाथोकीले स्थानीयलाई तुइन प्रयोग नगर्न आग्रह गरे पनि नमान्ने गरेको बताए । 

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक मालगाउँसम्म ट्र्याक खुले पनि गाडी चल्दैनन् । मालगाउँबाट दुम्लिङ तीन घण्टा पैदल दूरीमा पर्छ । टिंकरसम्म यातायात सञ्चालनमा आए मात्रै तुइनको बाध्यता हट्ने स्थानीय बताउँछन् । 

A decade of evacuation announcements: The death toll from falling from Tuin has not stopped

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवर महाकालीमा झोलुंगे पुलभन्दा सरकारले चाँडो सडक बनाइदिए धेरै सहज हुने बताउँछन् । ‘रणनीतिक महत्त्वको यस सडकमा संघीय सरकारले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन छ । यत्ति बजेटले के कति काम हुन सक्ला ?’ उनले भने, ‘झोलुंगे पुलको पहल गरे पनि बनाउन एक/दुई वर्ष लाग्छ । त्योभन्दा सडकमा जोड दिए राम्रो हुन्थ्यो ।’ 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अन्तर्राष्ट्रिय सीमा नदीमा अवैध रूपमा तुइन लगाइएको बताउँछन् । दुई देशको सुरक्षा संवेदनशीलता र ज्यानसँग जोडिएको विषय भएका कारण अवैध तुइन नलगाउन आग्रह गरिए पनि स्थानीयले बेवास्ता गरेको उनको भनाइ छ । ‘महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकाले तुइनको प्रयोग गर्दा जोखिमसँगै सुरक्षा पनि जोडिन्छ । हिँड्डुलमा केही कष्ट भए पनि पुलकै प्रयोग गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘सुरक्षाकर्मीलाई तुइन लगाइने क्षेत्रमा निगरानी बढाउन भनिएको छ । तर लुकिछिपी चलाएको सुनिन्छ ।’ 

खोला तर्न तुइनकै भर 

जाजरकोटको छेडागाड नगरपालिका—६ सुवानाउलीका ५३ वर्षीय भद्रबहादुर खड्का एक ग्रामीण सहकारी संस्थामा कार्यरत छन् । बचत संकलन र कर्जा असुलीका लागि उनलाई जुनीचाँदे गाउँपालिका—४ लुवादह जान मजकोटखोला तुइन तर्नुपर्छ । ‘गाउँनजिकै पुल छैन, तुइन चढ्दा हातखुट्टामा चोटपटक लाग्ने, खस्ने जोखिम हुन्छ,’ उनले भने । 

स्नातक तहमा अध्ययनरत रोमन विकलाई ज्ञानकुञ्ज क्याम्पस दशेरा जान तुइन नतरी हुँदैन । ‘एक घण्टा टाढाको अर्को गाउँबाट पुल तरेर जाँदा पढाइ नै छुट्छ,’ उनले भने, ‘पुल भए सुरक्षित, सजिलो र छोटो हुन्थ्यो तर पुल निर्माणमा कसैले चासो दिएनन् ।’ उनीसहित १० विद्यार्थी तुइन तरेरै क्याम्पस जाने गरेका छन् । त्यहाँको तुइनबाट खसेर तीन वर्षअघि २ जनाले ज्यान गुमाएका थिए । ‘वर्षमा ४/५ जना घाइते हुन्छ,’ उनले भने । 

जुनीचाँदे–४, छेडागाड–४ र ६ का बासिन्दाले सहजताका लागि आठ वर्षअघि आफैं तुइन निर्माण गरेका हुन् । तर तुइनका लट्ठा र कसिएका तारमा खिया लागेकाले वारपार गर्न जोखिमपूर्ण छ । तुइनबाट दिनमा ५० जनाले वारपार गर्ने गरेको जुनीचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काले बताए । उनका अनुसार मजकोटखोलाको बिराखोला र लामाताडामा झोलुंगे पुल निर्माण गरिएको छ । तर, ती पुल तर्न स्थानीयलाई कम्तीमा एक घण्टा हिँड्नुपर्छ । 

मजकोटखोलामै जुनीचाँदे–४ लुवादह र ११ नम्बर वडाको पाँगा जोड्ने अर्को तुइन छ । ११ नम्बर वडामा रहेको स्वास्थ्य चौकी जान बिरामीलाई पनि तुइन चढ्नुपर्ने बाध्यता रहेको आधारभूत विद्यालय लुवादहका शिक्षक कमल शर्माले बताए । ‘उतातिर अलि ठूलो बजार पनि छ, त्यसैले किनमेलका लागि दैनिकजसो तुइन चढ्नुपर्छ,’ उनले भने, ‘तुइन जीर्ण बनेकाले खस्ने हो कि भन्ने जोखिम सधैं हुन्छ । कहिलेकाहीं त बीचमै तुइन अड्किँदा गाउँबाट मान्छे बोलाउनुपर्छ ।’ उनका अनुसार तुइनबाट खसेर दुई वर्षअघि एक जनाले ज्यान गुमाएका थिए ।

जुनीचाँदे गाउँपालिका–१ स्थित स्यालतडादेखि सिमलतडा जोड्ने तुइनमा पनि दैनिक १० देखि २० जनाले आउजाउ गर्छन् । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख भूपेन्द्रप्रसाद जैसीले यी तीन वटा तुइन विस्थापनका लागि प्रदेश सरकारसँग अनुरोध गरी पठाए पनि सुनुवाइ नभएको बताए । 

हुम्ला कर्णाली नदीस्थित हुम्लाको सर्केगाड गाउँपालिकाका–२ रिपगाउँ र कर्णाली करिडोर जोड्न दुई वर्षअघि नेपाली सेनाले बनाएको तुइनबाट दिनमा ३० जनासम्म स्थानीय वारपार गर्छन् । ‘पुल तर्न डेढ घण्टा टाढाको दुलीमुन्डी पुग्नुपर्छ,’ स्थानीय मनिराज बुढाले भने, ‘कर्णाली करिडोरबाट आउने खाद्यान्न र गाउँको उत्पादन बाटोसम्म पुर्‍याउन पनि यही तुइनकै भर छ ।’ उही तुइनबाट झन्डै एक दर्जन स्थानीय जनप्रतिनिधि दैनिकजसो आउजाउ गर्ने गरे पनि पुल निर्माणमा कसैले चासो नदिएको उनले गुनासो गरे । 

हुम्लामै चंखेली गाउँपालिका–४ को नेप्का र लोतीगाउँ जोड्न कर्णाली नदीमा अर्को तुइन बनाइएको छ । चंखेली–४ का वडाध्यक्ष पदमबहादुर शाहीले पुल निर्माण नहुँदा स्थानीय तुइन चढ्न बाध्य भएको बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तुइनबाट खसेर आर्थिक वर्ष २०७६/७७ यता ८ जनाले ज्यान गुमाएका छन् भने तुइनबाट खसेर २३ जना घाइते भएका छन् । एक वर्षयता कसैको ज्यान नगए पनि तुइनबाट खसेर ७ जना घाइते भएको कार्यालयले जनाएको छ । डीआईजी माधव श्रेष्ठले तुइनको लट्ठा चुँडिने, तुइनमा कसिएका नटबोल्ट फुक्लने र स्थानीयको हेलचेक्र्याइँले दुर्घटना हुने गरेको बताए । 

कर्णाली प्रदेशभरि कति तुइन छन् भन्ने तथ्यांक कुनै पनि निकायमा छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र कर्णालीलाई तुइनमुक्त बनाउन नीति तथा कार्यक्रममा घोषणा गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गत २६ जेठमा मातहतका निकाय र स्थानीय तहका लागि सार्वजनिक सूचना जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार अहिलेसम्म ५२ ठाउँमा पुल निर्माणका लागि माग भएको छ । ‘हामीले तुइन भएका ठाउँको विवरण पठाउन भनेका हौं, तर पुल मागका सिफारिस धेरै आए,’ उनले भने, ‘सबै विवरण आएपछि आवश्यक जाॅच गरी प्राथमिकताका आधारमा पुल निर्माण गरिनेछ ।’ 

A decade of evacuation announcements: The death toll from falling from Tuin has not stopped

यो वर्ष प्रदेश सरकारले तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘एउटा झोलुंगे पुल निर्माण गर्न कम्तीमा ३० लाख रुपैयाँ चाहिन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘अहिले विनियोजन गरेको रकमले ५ ठाउँमा तुइन विस्थापन गर्न सकिन्छ ।’

भेरी तर्न हिउँदमा ट्युब, बर्खामा तुइन 

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिकका बासिन्दा भेरी नदीमा पुल नहुँदा हिउँदमा ट्युब र बर्खामा तुइन प्रयोग गर्छन् । झोलुंगे पुलको माग पूरा नभएपछि स्थानीयले आफ्नै खर्चमा नदी तर्न दुई वर्षअघि तुइन निर्माण गरेका थिए । बर्खामा ट्युबबाट तर्न नसकिने भएकाले तुइन हालेका हुन् । स्थानीय १० परिवारले किनमेलका लागि भेरीपारि जाजरकोटको छेडा बजार जानुपर्छ । दिनहुँ नदी तर्न जोखिम भएपछि यस गाउँका ८/१० विद्यार्थी जाजरकोटतर्फै डेरामा बस्ने गरेको स्थानीयले बताए । दिनहुँ आउजाउमा समस्या हुन थालेपछि स्थानीय केही परिवार पारिपट्टि जाजरकोटमा अस्थायी रूपमा बसेका छन् । 

स्थानीय गोपीलाल आचार्यका अनुसार तुइन चलाउने व्यक्तिको गत वर्ष मृत्यु भएपछि लामो समय सञ्चालन भएन । अहिले स्थानीयले आफैंले डोरी तानेर तुइनबाट वारपार गर्दै आएका छन् । तुइन जडान गरेपछि स्थानीयलाई दैनिक उपभोग्य वस्तु ओसारपसार र आउजाउमा भने सहज भएको छ । नजिकैको झोलुंगे पुल दुई वर्षअघिको बर्खामा भासिएपछि वारपार गर्न ट्युब प्रयोग गर्न थालिएको थियो । ट्युबमा बिरामीलाई अस्पताल लैजान समस्या हुन थालेपछि प्रत्येक घरबाट १० देखि १५ हजार रुपैयाँसम्म संकलन गरेर झोलुंगे पुलको लट्ठा किनेर तुइन बनाइएको स्थानीयले बताए । उनीहरूले भेरीमा १ सय २५ मिटर लामो तुइन हालेका हुन् । 

बर्खामा भेरीको सतह बढ्दा ट्युबबाट वारपार गर्न सम्भव नहुने भएकाले तुइन प्रयोग गर्दै आएको स्थानीय डिल्ली घर्तीले बताए । सरकारले तुइन विस्थापित गर्ने भन्दै आए पनि अहिलेसम्म कुनै चासो नदिएको उनको भनाइ छ । ‘पहिला धेरैले तुइनबाट वारपार गर्थे । अहिले छिटपुटले खेतीपातीको समयमा मात्र प्रयोग गर्छन् तर जोखिम भने उत्तिकै छ,’ उनले भने । पुल नभएको र भेरी नदी वारपार गर्नु जोखिमपूर्ण भएकाले स्थानीय बसाइँ सर्दै गएको पनि उनले जानकारी दिए । त्यस स्थानमा झोलुंगे पुल निर्माणका लागि प्राविधिक अध्ययन भइसकेको बन्गाड कुपिण्डे नगरपालिका–२ का वडाध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए । 

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully