आज देश-दुनियाँमा के-के भयो ? 

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

What you should know

काठमाडौँ — कांग्रेस नेता आलमविरुद्ध सर्वोच्चमा पुनरावेदन पेस, वामदेव मिसिए नेकपा एसमा, सरकारको बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब, राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्तदेखि भारतमा चट्याङ लागेर दुई दिनमै ३३ जनाको मृत्युसम्मको खबर चर्चामा रहे । 

००००

इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयबाट पुनरावेदनको निवेदन पेश भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आइतबार पुनरावेदन दर्ता हुनेछ । 

००००

नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । एकता अभियानका संयोजक वामदेव गौतम औपचारिक रुपमा नेकपा एकीकृतमा समायोजन भएका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताका साथै वरिष्ठ नेताको पद पनि दिइने भएको छ । अब पार्टीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेताका रुपमा वामदेव गौतम हुनेछन् ।

००००

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो। गत आवका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत बराबर हो ।

००००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट मुक्त गरेका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

००००

पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधबार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully