आज देश दुनियाँमा के–के भयो ? 

असार ३१, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताको राजीनामा, भगवती न्यौपाने नियुक्त, दार्चुलामा तुइन चुँडेर एक जना महाकालीमा बेपत्ता, स्पेनमा मान्छे पठाइएकोबारे छानबिन गर्न सीआईबीले बनायो समिति, मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमादेखि अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्युसम्मका खबर आज चर्चामा रहे । 

००००

बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् ।  

००००

दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका(२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए । 

००००

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा समिति बनाएको छ । एसएसपी बोगटीले आफ्नो नेतृत्वमा बनेको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताएका छन् ।  

००००

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ । राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ ।  

००००

अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully