दार्चुलामा तुइन चुँडेर एक जना महाकालीमा बेपत्ता

सरकारले तुइन विस्थापन गर्ने भनेर पटक-पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ ।

असार ३१, २०८२

मनोज बडू

One person went missing in Mahakali after picking a tuin in Darchula

दार्चुला — दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई  खोजी कार्यका लागि परिचालिन गरिएको प्रहरीले जनाएको छ ।

सरकारले तुइन विस्थापन गर्ने भनेर पटक-पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ । २०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । २०७२ मै २ वर्षभित्र तुइन विस्थापन गर्ने भनेको सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा उही कुरा दोहोर्‍याएको छ । 

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा छ । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully