आज देश दुनियाँमा के-के भयो ?

असार २६, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — अर्थतन्त्रको आकार ४ खर्बले बढ्यो, हिमताल विस्फोटले भोटेकोशीमा बाढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक, सडक भासिँदा तातोपानी नाका पुन: बन्ददेखि भारतले सम्झौताअनुसार गण्डकमा पानी नछाड्दा किसानलाई रोपाइँमा समस्यासम्मका खबर आज चर्चामा रहे । 

चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थमन्त्रालयले बिहीबार तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको हो । 

०००००

जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भोटेकोशीमा मंगलबार आएको बाढीले ३५० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण कार्य रोकिएको छ । बाढीका कारण २५० मेगावाट बराबरको जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादहकरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।  

०००००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ह्याकरले विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा लिएको र यसलाई रिकभर गर्ने प्रयास भइरहेको बताए । 

०००००

जिल्लाको भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने तातोपानी नाका कोदारी (इको)मा सडक भासिँदा बिहीबार पुन: ठप्प भएको छ । त्यस्तै १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा आएको छ । सडकको भित्ता तासेर र तल्लो भागमा जग उठाएपश्चात बिहीबार अपराह्न तीन बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो । 

०००००

भारतले सम्झौताअनुसारको परिमाणमा पानी नदिएपछि गण्डक नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको छ ।  बीउ तयार रहे पनि नहरमा पानी नआउँदा रोपाइँमा ढिला भएको छ । विशेष गरी बारा र रौतहटका किसानलाई रोपाइँमा समस्या भएको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार, नहरमा भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा हाल औसतमा ५ सय ५० क्युसेक मात्र पानी दिएको छ । 

कान्तिपुर

Link copied successfully