बाढीका कारण २५० मेगावाट बराबरको जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादहकरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।
काठमाडौँ — भोटेकोशीमा मंगलबार आएको बाढीले ३५० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण कार्य रोकिएको छ । बाढीका कारण २५० मेगावाट बराबरको जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादहकरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।
'बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द र ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ,' इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इप्पानका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलविद्युत्, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यसमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।
'देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत् आयोजना हुन्,' इप्पानको विज्ञप्तीमा उल्लेख छ ।
निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण उत्पादन हुने विद्युत आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने इप्पानले जनाएको छ ।
