आज देश-दुनियाँमा के-के भयो ?

असार ४, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७० खर्ब नाघ्यो, राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश, सरकारले विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिनेदेखि पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्युसम्मका खबर आज चर्चामा रहे ।

०००

बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ७० खर्ब रुपैयाँ नाघेको छ । यो हालसम्मकै धेरै हो । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्र ६२ खर्ब ६२ अर्ब रुपैयाँ छ । बाँकी करिब साढे ७ खर्ब निक्षेप विकास बैक र फाइनान्स कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

०००

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार निलम्बनको निर्णय कार्यान्वयन नगर्न र सोही पदमा काम गर्न दिन आदेश दिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले बताइन्  । 

०००

सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

०००

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । 

०००

भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ । 

कान्तिपुर

Link copied successfully