काठमाडौँ — सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ बराबरको अनुदान सहायता पनि स्वीकार गरेको छ ।
त्यस्तै, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेका अन्य निर्णयहरू:
- मत्स्यपालन अनुदानसम्बन्धी विश्व व्यापार सङ्गठन सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
- वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका माननीय न्यायाधीश डा. शान्ता सेढाईं सापकोटालाई तोक्ने ।
- सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।
- सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने ।
- २०८२ असार १६ देखि २१ गतेसम्म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
- नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न तनहुँको आँबुखैरेनी गाउँपालिकालाई प्रयोग गर्न स्वीकृति दिने ।
- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनलाई २ बिघा १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
- २०८२ असार १३ देखि १५ गतेसम्म टर्कीमा आयोजना हुने 'ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५' कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी गराउने ।
- २०८२ असार ३ र ४ गते दुबईमा आयोजना हुने खेलकुदमा एन्टी–डोपिङ (AORIM) सम्बन्धी २०औँ एशिया–ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सहभागी गराउने ।
- २०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
- मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० के.भी. डबल सर्किट विद्युत् प्रसारणलाइन आयोजनाका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल, रामग्राम र बर्दघाट नगरपालिकामा रहेको ४३.६६ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिने ।
- २०८२ असार २३ देखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने 'वल्र्ड समिट अन द इन्फर्मेसन सोसाइटी फोरम हाइ लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५' कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहभागी गराउने ।
- २०८२ असार ९ देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने 'थर्ड मिनिस्ट्रियल कन्फरेन्स अन सिभिल रजिस्ट्रेसन एण्ड भाइटल स्ट्याटिस्टिक्स इन एशिया एण्ड द प्यासिफिक' कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी गराउने ।
- इन्टरनेशनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति दिने ।
- नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम नियुक्त गर्ने ।