आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — भिजिट भिसा प्रकरणमा सत्तापक्ष र माओवादीबीच दुई बुँदे सहमति, विपक्षी दलको नाराबाजीबीच सदन सञ्चालन, दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान, यूएईमा घरेलु कामदार पठाउने सम्भावनाबारे अध्ययन गर्न तीन संसदीय उपसमिति गठनदेखि इजरायलले आक्रमण गरेपछि बदलामा इरानले पठायो सय ड्रोनसम्मका खबर आज चर्चामा रहे ।

000

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने सहमति भए पनि रास्वपा र राप्रपाले भने विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए पनि रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका हुन् । 

000

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ता पक्षसँग आत्मसमर्पण गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादीबीचको सहमति लुटतन्त्रको रक्षाका लागि भएको आरोप लगाएका हुन् ।  

000

तीनकुने घटनामा काठमाडौं जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका ७ जनालाई शुक्रबार डिल्लीबजार कारागार चलान गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो । 

000

द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो । 

000

इजरायलले इरानमाथि व्यापक हवाइ आक्रमण गरेको बदलामा इरानले करिब एक सयवटा ड्रोन इजरायलतर्फ पठाएको दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का ब्रिगेडियर जनरल एफी डेफ्रिनका अनुसार इरानले करिब १ सय ड्रोन इजरायलतर्फ पठाएको छ । त्यसलाई खसाल्न आफूहरूले प्रयास गरिरहेको उनले बताएका छन् । 

कान्तिपुर

Link copied successfully