भिजिट भिसा प्रकरण : सत्ता पक्ष र माओवादीबीच सहमति, रास्वपा र राप्रपाको अवरोध जारी

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Visit visa issue: agreement between the ruling party and Maoists, obstruction of RSVP and RPP continues

काठमाडौँ — सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने सहमति भए पनि रास्वपा र राप्रपाले भने विरोध जारी राखेका छन् । 

सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए पनि रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका हुन् । 

शुक्रबार दिउँसो प्रतिनिधि सभाको अवरोध अन्त्य गरी बैठक सुरु गर्न सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति गरेका थिए । तर रास्वपा र राप्रपाले भने सदनमा अवरोध जारी राखेका छन् । 

सहमतिमा सत्ता पक्ष र माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले सरकारले सहयोग गर्ने उल्लेख छ । त्यस्तै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने पनि सहमतिमा उल्लेख छ ।

यसअघि यस प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बन्नुपर्ने मागमा एकठाउँ उभिएका विपक्षी दल शुक्रबारदेखि भने दुई कित्तामा उभिएका छन् । रास्वपा र राप्रपाले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । 

कान्तिपुर

Link copied successfully