आज देश दुनियाँमा के-के भयो ? 

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ विरुद्ध साढे ३३ करोडको भ्रष्टाचार मुद्दा, विपक्षी दलहरुद्वारा आइतबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध, अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेकोमा ४८ नेपाली डिपोर्टदेखि भारतको मणिपुरका पाँच जिल्लामा इन्टरनेट सेवा बन्दसम्मका समाचार आज चर्चामा रहे । 

000

नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । 

000

प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार पटकपटक सरेर साँझ साढे ६ बजे बैठक सुरु भएको थियो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांसदहरुलाई बस्न आग्रह गरे पनि बस्न नमानेपछि सभामुखले बैठक जेठ २६ सोमबार दिउँसोसम्मका लागि स्थगित गरेका हुन् ।

000

भारतमा कोरोनाको संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा‍ प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर दुई सातादेखि पूर्वतयारी गरिरहेको बताए । उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।

000

अमेरिकाको निष्कासनमा परेका ४८ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ आइपुग्ने भएका छन् । अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल(साइन एन ४८६ एएक्सबाट उनीहरूलाई नेपाल पठाएको हो । उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ । 

000

भारतको पूर्वोत्तर मणिपुर राज्यमा शनिबार रातिदेखि लागू हुने गरी पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अन्य चार वटा जिल्लामा मानिसलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरिएको छ । शनिबार राति मैतेइ जातिको स्वयंसेवक संगठन ‘अरम्बाई टेंगोल – एटी’का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले गिरफ्तार गरेको खबर सार्वजनिक भएपछि राजधानी इम्फालमा प्रदर्शन भएको थियो । 

कान्तिपुर

Link copied successfully