अमेरिकाबाट 'डिपोर्ट'मा परेका नेपाली चार्टर फ्लाइटमार्फत आज आइपुग्दै

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Nepalis who were 'deported' from America are arriving today via charter flight

काठमाडौँ — अमेरिकाबाट डिपोर्टमा परेका करिब ४० नेपाली आज दिउँसो नेपाल आइपुग्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्टमा परेका अन्य देशका नागरिकलाई छाडेर जहाज नेपाल आइपुग्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका प्रवक्ता अन्जन न्यौपानेले नेपाली रहेको चार्टर विमान  दिउँसो ४ बजेर १५ मिनेट हाराहारीमा नेपाल आइपुग्ने तालिका रहेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दोस्रो कार्यकाल सम्हालेयता १४० जना नेपाली यसअघि नै अमेरिकाबाट डिपोर्टमा परिसकेका छन् । 

फागुन तेस्रो साता पनि अमेरिकाले चार्टर विमानमार्फत ८ नेपाली फर्काएको थियो । फर्किएकामध्ये केहीले मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको साेधपुछमा आफूहरु १२ वटा देशका सीमा अवैध रुपमा पार गरेर अमेरिका पुगेको बताएका थिए ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको दुई दिनपछि अर्थात् २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको थियो । 

ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासन गर्ने अभियान चलाएको छ । अमेरिकाबाट यसअघि सन् २०२१ देखि २०२४ सम्म १ सय ४० नेपाली निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो ।

आइसले गत २४ नोभेम्बरसम्म डिपोर्टका लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिई डिपोर्ट गरिरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully