मणिपुरका पाँच जिल्लामा इन्टरनेट सेवा बन्द

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Internet service suspended in five districts of Manipur

काठमाडौँ — भारतको पूर्वोत्तर मणिपुर राज्यमा शनिबार रातिदेखि लागू हुने गरी पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अन्य चार वटा जिल्लामा मानिसलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

फाइल तस्बिर : गत वर्षको असाेजमा मणिपुर राज्यमा प्रदर्शनरत विद्यार्थीलाई राेक्दै सुरक्षाकर्मी । तस्बिर : एएफपी 

शनिबार राति मैतेइ जातिको स्वयंसेवक संगठन 'अरम्बाई टेंगोल-एटी'का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले गिरफ्तार गरेको खबर सार्वजनिक भएपछि राजधानी इम्फालमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले सडकमा टायर बाल्ने र सडक अवरुद्ध गर्ने काम गरेको भारतिय संचारमाध्यम इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । 

इम्फालका कतिपय क्षेत्रमा भीस्याट र भीपीएन सेवा पनि अवरुद्ध भएका छन् । मणिपुरका गृह आयुक्त एन अशोक कुमारले केही असामाजिक तत्वले सामाजिक संजालको अत्यधिक प्रयोग गरी तस्विर, घृणाजन्य अभिव्यक्ति र घृणाजन्य भिडियो म्यासेजहरु फैलाइरहेकोले र यसले समाजमा उत्तेजना फैलाउने र कानुन कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने भएकाले यस्तो कदम चालिएको बताएका छन् । 

भारतीय संचारमाध्यमले क्वाकेइथेल क्षेत्रमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएको रिपोर्ट आएको छ, जसमा धेरै जना घाइते भएका छन् ।गत मे महिनामा पनि मणिपुरमा हिंसा फैलिएको थियो र त्यतिबेला पनि त्यहाँ मोबाइल, इन्टरनेटमा प्रतिबन्ध लागेको थियो । यस्तो प्रतिबन्ध सेप्टेम्बर २३ मा हटाइए पनि लगत्तै सुरु भएको विरोध तथा प्रदर्शनपछि सरकारले फेरि इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । 

मणिपुरमा जातीय हिंसा र प्रदर्शनको लामो इतिहास छ । सन् १९९३ मा नागा र कुकीबीच अहिलेझैं जातीय हिंसा भएको थियो । त्यसलाई मत्थर पार्न तत्कालीन सरकारले मणिपुरमा राष्ट्रपति शासन लागू गरेको थियो । हालसम्म मणिपुरमा दस पटक राष्ट्रपति शासन लागू भएको इतिहास छ ।

पछिल्लो समय सन् २००१ मा जब तत्कालीन राज्य सरकारले विधानसभामा बहुमत गुमायो, तब राष्ट्रपति शासन व्यवस्था लागू गरिएको थियो । 

कान्तिपुर

Link copied successfully