काठमाडौँ — बाजुराको बाम्का बजारमा आगलागी हुँदा ४० पसल जले, नेपालमाथि भ्रष्टाचार मुद्दाबारे दाहाल भन्छन् – ओलीको प्रतिशोधको गन्ध आयो, पतञ्जलि जग्गा प्रकरणमा सूर्यविनायकका मेयर बासुदेव थापा पनि प्रतिवादीको सूचीमादेखि अमेरिकामा नेपालीका लागि टीपीएस कार्यक्रम खारेज हुनेसम्मका खबर आज चर्चामा रहे ।
००००
बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे(मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो । आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । नगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो ।
००००
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले मुद्दा चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् । शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले मुद्दा दर्ता भए पनि अदालतले सफाइ दिनेमा स्वयं नेपाल र आफू पनि विश्वस्त रहेको बताएका हुन् ।
००००
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्द पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि प्रतिवादी छन् । थापाले हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेका थिए । थापा २०७४ र २०७९ को सथानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन् ।
००००
अमेरिकाले नेपाली नागरिकका लागि दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अब खारेज गर्ने भएको छ । त्यहाँको आन्तरिक सुरक्षा मन्त्रालय ९डीएचएस० ले सोमबार संघीय रजिस्टरमा सूचना प्रकाशित गर्दै सन् २०२५ अगस्ट ५ बाट नेपालीका लागि टीपीएस कार्यक्रम औपचारिक रूपमा अन्त्य हुने घोषणा गरेको छ ।
००००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी इलन मस्कले व्यक्तिगत तहमै उत्रेर एक-अर्काविरुद्ध गालीगलौज सुरु गरेपछि अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेका छन् । टेस्लाको सेयर मूल्य बिहीबार एकैदिन १४।३ प्रतिशतले घटेपछि कम्पनीको बजार मूल्यमा १५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो असर परेको छ । उनले एकैदिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।
