नेपालीका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

TPS program for Nepali should be cancelled, America's suggestion to prepare to return home

काठमाडौँ — अमेरिकाले नेपाली नागरिकका लागि दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अब खारेज गर्ने भएको छ । त्यहाँको आन्तरिक सुरक्षा मन्त्रालय (डीएचएस) ले सोमबार संघीय रजिस्टरमा सूचना प्रकाशित गर्दै सन् २०२५ अगस्ट ५ बाट नेपालीका लागि टीपीएस कार्यक्रम औपचारिक रूपमा अन्त्य हुने घोषणा गरेको छ । 

मन्त्रालयकी सचिव क्रिस्टी नोएमले नेपालको वर्तमान अवस्था तथा अन्तरनिकाय परामर्शपछि नेपालले टीपीएसको मापदण्ड पूरा नगर्ने निष्कर्ष निकाल्दै उक्त निर्णय गर‍िएको जनाइएकी छन् । मन्त्रालयले हाल टीपीएसका आधारमा अमेरिका बसोबास गरिरहेका नेपालीहरूलाई अन्य वैध आवासीय आधार नभएमा स्वदेश फर्कने तयारी गर्न अनुरोध गरेको छ । 

अमेरिकाबाट घर फर्किन चाहनेहरूले ‘सीबीपी होम मोबाइल एप्लिकेसन’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको अमेरिकाको सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजको वेबसाइटमा उल्लेख छ । 

TPS program for Nepali should be cancelled, America's suggestion to prepare to return home

सन् २०१५ को भूकम्पपछि नेपालीहरू प्रभावित भएको भन्दै अमेरिकी सरकारले टीपीएस कार्यक्रममार्फत हजारौँ नेपालीलाई अमेरिका बस्न र काम गर्न अनुमति दिएको थियो । यो कार्यक्रमले मानवीयताका आधारमा आफ्नो देश फर्कन सक्ने अवस्था नभएका योग्य देशका नागरिकलाई आवधिक र अस्थायी कानुनी मान्यता प्रदान गर्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लै कार्यकालमा पटक-पटक यो कार्यक्रम खारेज गर्ने प्रयास भए पनि विभिन्न मुद्दा र बाइडेन सरकारको निर्णयका कारण खारेजी लागू हुने समय थपिँदै आएको थियो। 

नेपालीलाई अब टीपीएस कार्यक्रम उपलब्ध नगराउने भन्ने घोषणा अमेरिकाे आप्रवासन र भिसा नीतिमा भइरहेको व्यापक परिवर्तन र कडाइकै सेरोफेरोमा आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नयाँ विद्यार्थी भिसाको अन्तर्वार्ता मिति तोक्ने प्रक्रियासमेत स्थगित गरेको छ भने विभिन्न १२ देशका नागरिकलाई अमेरिका प्रवेशमै प्रतिबन्ध लगाइसकेको छ । आप्रवासनसम्बन्धी मुद्दामा लचिलो रहने डेमोक्र्याट नीतिको विपरीत आप्रवासनमा कडाइ र गैरकानुनी आप्रवासनलाई नियमन गर्ने भनेरै पुनः निर्वाचित भएका ट्रम्प प्रशासनले सत्ता सम्हाल्नेबित्तिकै यस्ता कार्यक्रम निरन्तर थप्दै लगेको छन् । 

कान्तिपुर

Link copied successfully