काठमाडौँ — पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ विरुद्ध भ्रष्टाचार मुद्दा, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै बिहीबार पनि संसद्मा अवरोध, अमेरिकी राष्ट्रपतिद्वारा हार्वर्ड अध्ययन गर्ने विदेशी विद्यार्थीको भिसा रद्ददेखि महिला फुटबल प्रशिक्षकमा प्याट्रिक डे विल्ड नियुक्तसम्मका खबर आज चर्चामा रहे ।
000
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
000
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बोलाइए पनि विपक्षी दलहरूले उठाएका विषयमा सत्तापक्ष सहमत नहुँदा र विपक्षी दलहरू आफ्नो अडानबाट पछाडि नहट्दा अवरोधको अवस्था आएको हो । संसद्मा आफ्ना धारणा राख्नका लागि गृहमन्त्री लेखकले समय माग गरेका छन् ।
000
नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । अब सरकारले योभन्दा कममा श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्ने छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने श्रमिकको न्यूनतम तलब निर्धारण गर्ने बिहीबार निर्णय गरेका हुन् ।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हावर्ड विश्वविद्यालयमा पढ्न वा एक्सचेन्ज प्रोग्रामुमा भाग लिन चाहने विदेशी विद्यार्थीको प्रवेशमा अस्थायी रुपमा रोक लगाएका छन् । राष्ट्रपति ट्रम्पले ६ महिनाका लागि विदेशी विद्यार्थीको प्रवेशमा रोक लगाएका हुन् । अमेरिकी राष्ट्रपतिले बुधबार ‘राष्ट्रिय सुरक्षाको चिन्ता’ देखाउँदै हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने निर्णय गरेका हुन् ।
000
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्ड नियुक्त गरेको छ । एन्फा महासचिव किरण राईले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका छन् । उनी नेपाली महिला राष्ट्रिय टिम सम्हाल्ने दोस्रो प्रशिक्षक हुन् ।
