हार्वर्ड अध्ययन गर्ने विदेशी विद्यार्थीको भिसा रद्द

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Cancellation of visas for foreign students studying at Harvard

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा पढ्न वा 'एक्सचेन्ज प्रोग्राम'मा भाग लिन चाहने विदेशी विद्यार्थीको प्रवेशमा अस्थायी रुपमा रोक लगाएका छन् । राष्ट्रपति ट्रम्पले ६ महिनाका लागि विदेशी विद्यार्थीको प्रवेशमा रोक लगाएका हुन् ।

अमेरिकी राष्ट्रपतिले बुधबार ‘राष्ट्रिय सुरक्षाको चिन्ता’ देखाउँदै हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने निर्णय गरेका हुन् । उनले विदेशी विद्यार्थीलाई भर्ना गर्न दिनु अमेरिकाको हितविरुद्ध भएको भन्दै यस्तो निर्णय लिएका हुन् ।

रोयटर्स समाचार एजेन्सीका अनुसार हार्वर्डले ट्रम्पको आदेशलाई ‘बदला लिन खोजिएको’ भन्दै व्याख्या गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संरक्षण गर्न प्रतिबद्ध रहने समेत हार्वर्डले बताएको छ ।

अप्रिलमा हार्वर्डले ह्वाइट हाउसका केही मागहरू अस्वीकार गरेपछि सुरु भएको कानुनी विवाद चर्किंदै गएको छ । ट्रम्पको पछिल्लो निर्णय त्यसकै अर्को कदम भएको हार्वर्डको दाबी छ ।

गत साता एक न्यायाधीशले हार्वर्डका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिका आउन नदिन खोजिएको निर्णय रोकेपछि बुधबार ट्रम्पको नयाँ आदेश आएको हो ।

ट्रम्पले हार्वर्डलाई विदेशी देशहरूसँग गहिरो मिलेमतो गरेको र आफ्नै विद्यार्थी तथा शिक्षकहरूको अधिकारको बेवास्ता गरेको आरोप लगाएका छन् । ट्रम्पले भने, ‘हार्वर्ड विश्वविद्यालयमा पढ्न आउने वा अमेरिका आउन चाहने विदेशी नागरिकहरूको प्रवेश रोक्नु आवश्यक छ त्यसैले यो निर्णय लिएको छु ।’

यो आदेशले एक्सचेन्ज प्रोग्रामका लागि भिसा लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रक्रिया पनि रोक्नेछ । त्यस्तै हाल हार्वर्डमा अध्ययनरत विद्यार्थीहरूको भिसा रद्द गर्ने प्रावधानबारे विचार गर्न परराष्ट्र सचिवालयलाई निर्देशन दिएको छ । भिसा निलम्बनको आदेश ६ महिनाभन्दा लम्बिन सक्ने आकलन गरिएको छ ।

कान्तिपुर

Link copied successfully