आज देश दुनियाँमा के-के भयो ?

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — सोमबार कान्तिपुरमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरदेखि सत्तारुढ एमालेको ‘म झोले हो’ डिजिटल अभियान सुरुसम्मका समाचार छापिएका छन् । 

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै जुलुसदेखि सामाजिक सञ्जालमासम्म एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थालेपछि आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ भन्ने डिजिटल अभियान सुरु गरेका छन् । ओलीले सुरु गरेको अभियानमा एमाले नेताहरू सहभागी भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सूचना तथा विज्ञान प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेता महेश बस्नेतलगायतका थुप्रै नेता ‘म झोले अभियान’ मा सहभागी भएका छन् । यो अभियानमा नेता सहभागी हुने बढ्दै छ ।

विभिन्न राइड सेयरिङ एपमार्फत गाडी नचलेको मौका छोपेर यात्रुहरुबाट बढी भाडा असुल गर्ने ० जनालाई प्रहरीले कारबाही गरेको छ।  अफलाइन बसेर बार्गेनिङ गर्ने र देखाएको भन्दा बढी शुल्क असुल गर्ने ९० जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरूलाई ट्राफिक नियमअनुसार कारबाहीसमेत गरिएको थियो । 

आउने साता भारतको उत्तर पूर्वी राज्यहरू असम र मेघालयमा अति भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन भारतको मौसम विभागले ‘रेड अलर्ट’ जारी गरेको छ । ‘रेड अलर्ट’ ले मनसुनजन्य विपद्को उच्च जोखिमको संकेत गर्छ । यसैगरी उत्तर पूर्वी नागाल्यान्ड, मिजोरम, मणिपुर र त्रिपुरा राज्यमा पनि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले सोमबार हङकङ र लाओसविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि २३ सदस्यीय टिम घोषणा गरेका छन् । नेपालले जुन ५ मा हङकङविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ । लाओसविरुद्धको खेल भने जुन १० मा हुनेछ र यो एसिया कपको छनोट खेल हुनेछ । प्रशिक्षक म्याटले घोषणा गरेको टिमको कप्तानमा किरङ चेम्जोङ रहेका छन् । उनीसागै टिमका अन्य गोलरक्षकमा विशाल सुनार र दीप कार्की छन् ।

कान्तिपुर

Link copied successfully