राइड सेयरिङमार्फत बढी भाडा लिने ९० जना कारबाहीमा

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Action against 90 people who charged more fares through ride sharing

काठमाडौँ — विभिन्न राइड सेयरिङ एपमार्फत गाडी नचलेको मौका छोपेर यात्रुहरुबाट बढी भाडा असुल गर्ने ९० जनालाई प्रहरीले कारबाही गरेको छ।  अफलाइन बसेर बार्गेनिङ गर्ने र देखाएको भन्दा बढी शुल्क असुल गर्ने ९० जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । 

उनीहरूलाई ट्राफिक नियमअनुसार कारबाहीसमेत गरिएको थियो । यात्रीहरूलाई मर्का पर्नेगरी सेवा दिने राइडरहरूको यस्ता गतिविधिबाट सावधान रहन आग्रह गर्दै ट्राफिक प्रहरीले यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको निःशुल्क हेल्पलाइन नम्बर १०३ मा जानकारी दिन अनुरोधसमेत गरेको थियो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आज देशभर सार्वजनिक सवारी ठप्प पारेका थिए ।

यातायात व्यवसायीका कारण सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले काठमाडौंमा दुई वटा बस सञ्चालनमा ल्याएको थियो भने साझा यातायातलाई सुरक्षा दिएर सञ्चालनमा प्रहरीले सहयोग गरेको थियो । यस्तै थापाका अनुसार गण्डकी प्रदेशबाट केही सार्वजनिक यातायातलाई प्रहरी स्कर्टिङ गरेर गन्तव्यसम्म पुराउन सहयोग गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully