सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

A corruption case was filed against Sodari, the former Chief Minister of Far West

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको मिति२०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ । तर सोही अवधिमा आम्दानी र खर्च हिसाब गर्दा एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रूपैयाँबराबरको हिसाम देखाउन नसकेकाले त्यति नै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । 

सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । 

कान्तिपुर

Link copied successfully