आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — काठमाडौंमा राजावादीको प्रदर्शन, राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपा सांसद सिंह पक्राउ, तत्कालीन राजाहरू बलात्कारी र हत्यारा नै रहेको माओवादी अध्यक्ष दाहालको आरोप, ग्यारेजमा गाडी थन्क्याएर सरकारलाई चाबी बुझाउने अवस्था आउन सक्ने यातायात व्यवसायी महासंघको चेतावनीदेखि गाजापट्टीमा राहत लिन बसेकामाथि गोली प्रहार, कम्तीमा ३१ को मृत्युसम्मका खबर आज चर्चामा रहे । 

०००

राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थकको आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरी परिसरबाटै पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले अध्यक्ष थापा र राप्रपा सांसद सिंह पक्राउ परेको जानकारी दिए ।   

०००

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लामो समय शासन गर्ने राजाहरूका नकारात्मक पाटो नयाँ पुस्ताले थाहा पाउनुपर्ने बताएका छन् । आइतबार योङ कम्युनिस्ट लिगको  राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरू नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् ।  

०००

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले घर–ग्यारेजमा गाडी थन्क्याएर सरकारलाई चाबी बुझाउने अवस्था नआओस् भन्दै चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजकसमेत रहेका सिटौलाले कान्तिपुरसँग कुरा गर्दै पेसागत हितका माग गर्दा सरकारलाई यातायातका साधनका चाबी नै बुझाउने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

०००

साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो । साहित्यकार प्रधुम्न जोशीले बिहान साढे ११ बजेतिर रसिकको निधनको खबर आफूले पाएको पुष्टि गरे । रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।  

०००

गाजापट्टीमा राहत स्वरुप बाँड्न लागिएको खाद्यान्न लिन जाँदै गरेका मानिसमाथि गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एसोसिएट प्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इजरायली सेनाले गोली चलाएको उल्लेख गरेको छ ।  

कान्तिपुर

Link copied successfully