काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले घर–ग्यारेजमा गाडी थन्क्याएर सरकारलाई चाबी बुझाउने अवस्था नआओस् भन्दै चेतावनी दिएका छन् ।
सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजकसमेत रहेका सिटौलाले कान्तिपुरसँग कुरा गर्दै पेसागत हितका माग गर्दा सरकारलाई यातायातका साधनका चाबी नै बुझाउने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।
'सवारीसाधन घर-ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने निर्णयमा पुगेका हौं । हामीसँग देशभरि ४ लाख सवारी साधन छन् । जुन हाम्रो माग पूरा नहुँदासम्म सडकमा गुड्ने छैन,' उनले भने, 'यदि सरकारले हाम्रो पेसागत हितको लागि गरेको आन्दोलनको कुरा सुनेन भने चाबी नै सरकारलाई बुझाउने समय पनि आउन सक्छ ।'
संविधानविपरीत गण्डकी प्रदेश सरकारले 'राइड सेयरिङ' नियमावली ल्याएपछि यातायात व्यवसायीहरु ७ बुँदे मागसहित आन्दोलनमा छन् । माग पूरा नभए उनीहरुले सोमबारदेखि अनिश्चितकालका लागि सवारीसाधन घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको बताए । 'हामीले धेरैपटक सरकारको ध्यानाकर्षण गराएका छौं । हामी यात्रुले सास्ती पाओस् भन्ने चाहन्नौं । तर राज्यले हाम्रो माग नसुनेपछि अन्तिम विकल्पका रुपमा यातायात नै बन्दको घोषणा गरेका हौं, आफ्नो पेसा/व्यवसाय बचाउनको लागि यो आन्दोलन गरेका हौं,' उनले भने, 'सरकारले अझै पनि वार्तामा बोलाएर हाम्रो माग सम्बोधन गर्न सक्छ ।'
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी सवारी साधनमा कालो नम्बर प्लेकका सार्वजनिक सवारी साधनमा जसरी मानिस बोक्न सक्ने व्यवस्था गरेपछि आफूहरुको आन्दोलनको सुरुवात भएको उनको भनाइ छ । उनले गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनु पर्ने, सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको २०८० चैत २० गतेको परमादेश कार्यान्वयन गरिनुपर्ने, सवारी ऐन २०४९ संशोधन क्रममा रहेको अवस्थामा नेपाल सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेलगायत यातायात व्यवसायीको माग रहेको बताए ।
