४ महिनादेखि अचेत पविताको उपचारमा लापर्बाही, अस्पताल र चिकित्सकविरुद्ध जाहेरी लिन प्रहरीको आलटाल

बिनादर्ता खोलिएको मुस्कान अस्पतालमा बिनाएनेस्थेसिस्ट नै पित्त थैली झिक्ने शल्यक्रिया गरेको डा. ज्ञानकुमार साहमाथि आरोप

जेष्ठ ६, २०८२

स्वरूप आचार्य, कमलेश ठाकुर

Police's hesitance to file a complaint against the hospital and doctor for negligence in the treatment of Pavitha, who has been unconscious for 4 months.

काठमाडौं, जनकपुर — मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा थकित अवस्थामा देखिए सर्लाही हरिपुर्वाका २४ वर्षीय अंगेशकुमार यादव । हातमा जाहेरी दरखास्तसहित भेटिएका उनी चिन्तित देखिन्थे । पित्तथैलीको शल्यक्रिया गराएको श्रीमती पविताकुमारी यादव अचेत भएको चार महिना चार दिन बितिसक्दा पनि होस खुलेको छैन ।

थप उपचारका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको ९८ दिन बितिसकेको छ । तर, उनको होस खुल्ने नखुल्ने अझै टुंगो छैन । काठमाडौंको बसाइ, अस्पताल खर्च र औषधिको रकम जोहो गर्ने कुनै उपाय नभएपछि उनी तीन साताअघि घर फिरेका हुन् । उनी आफ्नी श्रीमतीलाई ‘कोमा’मा पुर्‍याउने चिकित्सक र अस्पतालविरुद्ध ज्यान मुद्दाको जाहेरी दिन चाहन्छन् । तर, प्रहरीले कानुनी जटिलताबीच त्यसलाई दर्ता गर्न सकेको छैन ।

जाहेरी लिएर अंगेश र उनको परिवार धनुषा प्रहरीमा हरिपुर्वाबाट चार पटक आइसकेको छ । हरेक पटक प्रहरीले अनुसन्धान गरिरहेको ढाडस दिएर उनीहरूलाई फर्काउने गरेको छ । त्यसकारण अंगेश यस पटक मेडिकल क्षेत्रमै काम गर्ने काका वीरेन्द्र अधिकारी र ससुरा ब्रहमदेव राय यादवसँग आएका थिए ।

मंगलबार अंगेश सबैभन्दा पहिला एसपी नरहरी रेग्मीको कार्यकक्ष अगाडि पुगे । भित्र मिटिङ चलिरहेको भन्दै ३० मिनेटपछि आउन सुरक्षा गार्डले बताए । त्यसपछि उनी डीएसपी वरुणबहादुर सिंहको कार्यकक्षमा पुगे । उनको कार्यकक्षमा बाहिरबाट ताल्चा लगाइएको थियो । अनी अंगेशका काका वीरेन्द्रले उनलाई मुद्दा फाँटमा लिएर गए । त्यहाँ जाहेरी दर्ताको विषयमा बुझ्ने प्रयत्न गरे । प्रहरी निरीक्षक सागर कार्कीले अनुसन्धान भइरहेको दोहर्‍याए । उनको जवाफले अंगेशको काका वीरेन्द्र आश्वस्त भएन अनी मसिनो स्वरमा सोधे ‘सर मुद्दा दर्ता कहिले हुन्छ ?’

उनको प्रश्नमा प्रहरी निरीक्षक कार्कीले अस्पतालबाट आवश्यक कागजात र उपचारमा संलग्न चिकित्सकको एनएमसी नम्बर मगाएको जवाफ फर्काए । नेपाल मेडिकल काउन्सिलमा उक्त कागजात र एनएमसी नम्बर पठाउने र त्यहाँबाट अस्पताल र चिकित्सको त्रुटी देखाए मात्रै मुद्दा दर्ता हुने प्रहरी निरीक्षक कार्कीको कथन थियो ।

Police's hesitance to file a complaint against the hospital and doctor for negligence in the treatment of Pavitha, who has been unconscious for 4 months.यसरी दर्ताबिना नै अस्पताल सञ्चालन गरेका मुस्कान अस्पतालका सञ्चालक र पविताको उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न प्रहरी आलटाल गरिरहेको छ । अंगेशको ससुरा निवेदक रही तयार पारेको जाहेरी दरखास्तमा मुलकी अपराध संहिता २०७४ को दफा २३०, २३१ र २३२ को कसुर गरेको हुनाले क्षतिपूर्तिसहित कारबाहीको माग गरेको छ । तर, प्रहरी भने आफ्नो अधिकार क्षेत्रमा पर्ने कि नपर्ने भन्ने अन्यौलमा छ ।

प्रचलित मुलकी अपराध संहिताको दफा २३० मा ‘इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने’ व्यवस्था छ भने दफा २३१ मा ‘बद्नियत चिताई इलाज गर्न नहुने’ र दफा २३२ मा ‘लापरवाही वा हेल्चक्रयाई गरी इलाज गर्न नहुने’ व्यवस्था छ । पवितालाई इजाजतबिनाको आस्पतालमा बिनाएनेस्थेसिस्ट शल्यक्रिया गरेर चिकित्सक र अस्पतालले नियतवस लापर्हीबा गरेको अंगेशको आरोप छ । त्यसकारण यो घटनामा तीनै दफा आकर्षित गरी प्रहरीले दोषीलाई कारबाही गर्न सक्ने कानुनी आधार भने रहेको अधिवक्ता रिंकुकुमारी यादव बताउँछिन् । 

घटनाको विषयमा जानकार रहेका एसपी भुवनेश्वर तिवारीको सरुवा भइसकेको छ । नयाँ आएका एसपी नरहरि रेग्मीले घट्नाको विषयमा बुझिरहेको र मुख्यमन्त्रीसँग छलफल गरेर दर्ता प्रक्रिया अगाडि बढाउने बताए । ‘मुख्यमन्त्रीज्यूको नोटिसमा परिसकेको विषय छ । एक पटक उहाँसँग छलफल गरेर के गर्न सकिन्छ गरौंला,’ उनले भने, ‘कारबाही त मेडिकल काउन्सिलकै क्षेत्राधिकारमा पर्छ त्यहाँबाट कुनै निर्देशन नआएसम्म केही भन्न सकिन्न ।’

मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले यस घटनामा आन्तरिक समस्या देखिएको बताए । सुरुवातमा अस्पताल सञ्चालक पीडितको सम्पर्कमा रहे पनि अहिले कसैको सम्पर्कमा नरहेको हुनाले समस्या देखिएको बताए । तर, आफूहरु पीडितको पक्षमा रहेको र पीडितले जुन बाटो अपनाए पनि साथ दिने आश्वासन दिए । ‘मैले बुझेअनुसार अस्पताल सञ्चालक एकमुष्ट पैसा तिरेर मुद्दाबाट मुक्ति पाउन खोजेको छ । त्यहीअनुसार सुरुवातमा एक/दुई लाख रुपैयाँ पनि दिएको थियो,’ उनले भने, ‘अहिले मुक्ति पाउने नदेखेपछि सम्पर्कविहीन होला । मपनि प्रहरीसँग समन्वय गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।’

पविताको उपचारमा हाल सम्म ३० लाख रुपैयाँ खर्च भइसकेको उनको बुबा ब्रम्हदेव रायले बताए । पैसा अभावमा र केएमसी अस्पतालको ताकेताका कारण तीन साता यता अस्पतालमा बिरामी कुरुवा पनि कोही नरहेको उनले बताए । अस्पतालले नियमित पैसा बुझाउन तोकता गरिरहेको उनले बताए । ‘भएको पैसा हामीले उपचार खर्चमा बुझाइसक्यौं,’ उनले भने, ‘अब हामी पुरै सम्पत्ति बिक्री गरे पनि अस्पतालको पैसा तिर्न सक्दैनौं ।’ पैसा अभावमा पविताको औषधि उपचारमा समेत समस्या भएको उनको भनाइ छ ।

केएमसी अस्पतालकी मेडिकल निर्देशक प्राडा. मीना थापाका अनुसार ९८ दिनदेखि आईसीयूको भेन्टिलेटरमा राखिएकी पविताको नाममा हालसम्म अस्पतालमा केवल हजार रुपैयाँ डिपोजिट भएको देखिन्छ । ‘९८ दिन आईसीयूभित्र भेन्टिलेटरमा रहँदा जम्मा हजार रुपैयाँ डिपोजिट छ । अस्पतालले यो भन्दा बढि कति हेर्ने हो ?’ उनले भनिन्, ‘अहिले तीन सातादेखि बिरामी कुरुवा पनि नभएकाले नर्सहरूले आफैंले जोहो गरेर उनलाई खाना खुवाइरहेका छन् । हामी कहाँ बिरामीलाई खाना दिन प्रणाली छैन । भोलि बिरामीलाई केही भएमा हामीलाई नै दोष आउँछ ।’ उनले अब प्रहरीलाई औपचारिक रूपमा जिम्मा लगाउनुको विकल्प अस्पतालसँग नभएका बताइन् ।

प्रा .डा. थापाका अनुसार पविता अहिले पनि अचेत अवस्थामा भेन्टिलेटरमै छिन् र उनलाई पाइपको माध्ययमबाट खाना दिने गरिएको छ । त्यससँगै आवश्यक औषधि पनि अस्पतालले आफैं दिइरहेको छ ।

शल्यक्रिया गरेर पित्तथैली झिक्न ३ माघमा उनलाई जनकपुरस्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनलाई शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो, त्यसपछि उनको होस फिरेको छैन । पविताको शल्यक्रिया मुस्कान अस्पतालमा कार्यरत डा. ज्ञानकुमार साहले गरेका हुन् । शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस पार्ने औषधि) दिने विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्छ । तर, पवितालाई बेहोस पार्ने औषधि कुन चिकित्सकले चलाएका हुन् भन्ने अस्पतालले स्पष्ट पार्न सकेको छैन ।

पविताको उपचारको अभिलेख हेरेका एक चिकित्सकका अनुसार भने उनलाई बेहोस बनाउने औषधि दिँदा नै गडबड भएका कारण ‘हाइपोक्सिक ब्रेन इन्जुरी’ भएको सम्भावना बढी देखिन्छ । ‘हामीले यत्तिकै भन्न मिलेन तर दिमागमा अक्सिजन नपुगेर ब्रेन इन्जुरी भएको छ, त्यसको कारण एनेस्थेसिया दिँदा तलमाथि भयो भन्ने नै हो,’ ती चिकित्सक भन्छन्, ‘बेहोस बनाउन कुन औषधि दिइएको थियो ? शल्यक्रिया अवधिभर बिरामीको शरीरमा अक्सिजनको मात्रा के थियो ? यो सबै मनिटर गर्नुपर्ने हुन्छ । जसको विस्तृत जानकारी छैन । खासमा शल्यक्रिया गर्दा एनेस्थेसिस्ट नै थिए कि थिएनन् भन्ने यकिन छैन ।’

शल्यक्रियापछि होस फर्काउन पवितालाई तीन दिनसम्म मुस्कान अस्पतालले नै राखेको थियो । त्यसपछि ६ माघमा भने जानकी हेल्थ केयरमा सारिएको थियो । जानकीमा २७ दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पवितालाई सुरुमा काठमाडौंस्थित वीर अस्पताल पुर्‍याइएको थियो । तर, वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) रेफर गरिएको थियो  ।

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully