मधेशका अस्पताल आफैं ‘कोमा’ मा : पित्तथैलीको शल्यक्रिया गराएकी महिला ६७ दिनदेखि अचेत

भारतमा मजदुरी गर्ने श्रीमान् आईसीयूको ढोकामा

चैत्र ११, २०८१

स्वरूप आचार्य, अजित तिवारी

Hospital in Madhesh itself in a 'coma': woman who underwent gall bladder surgery has been unconscious for 67 days

जनकपुरधाम — सर्लाही हरिपुर्वाका २४ वर्षका अंगेशकुमार यादव १ फागुनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को आईसीयूबाहिर कुरेर बसिरहेका छन् । ६७ दिनदेखि अचेत २४ वर्षीया श्रीमती पविताकुमारी यादवको होस फर्किने आशा उनले मारेका छैनन्, तर उनलाई विश्वस्त बनाउने कोही छैन ।

पुसको मध्यतिर अत्यधिक पेट दुखेपछि जाँच गराउन जनकपुर पुगेकी उनको अल्ट्रासाउन्ड गराउँदा पित्तथैलीमा ढुंगा रहेको पत्ता लागेको थियो । शल्यक्रिया गरेर पित्तथैली झिक्न ३ माघमा उनलाई जनकपुरस्थित मुस्कान अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनलाई शल्यक्रिया कक्षभित्र लगेर बेहोस पारिएको थियो, त्यसपछि उनको होस फिरेको छैन । 

होस फर्काउन उनलाई तीन दिनसम्म मुस्कान अस्पतालले नै राख्यो, ६ माघमा भने जानकी हेल्थ केयरमा सारिएको थियो । जानकीमा २७ दिनसम्म राख्दा पनि अवस्था सुधार नभएपछि भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर पवितालाई काठमाडौंस्थित वीर अस्पताल पुर्‍याइयो । तर, वीरमा भेन्टिलेटरयुक्त आईसीयू बेड खाली नभएको भन्दै केएमसी रेफर गरियो । सुरुका साता उनी मुर्छामा छटपटाउँथिन् । 

पछि शान्त भइन्, तर हलचल केही छैन । एक सातादेखि उनले आँखा उघारेकी छिन् । तर सास फेर्न भने उनलाई भेन्टिलेटरकै सहायता अनिवार्य छ ।  

केएमसी न्युरोलोजी विभागका प्रमुख डा. पारस रायमाझीका अनुसार जनकपुरबाट ल्याउँदाभन्दा पविताको अवस्थामा केही सुधार छ । ‘तर, होस कहिले आउँछ भनेर यसै भन्न सकिन्न,’ उनी भन्छन्, ‘बिस्तारै भेन्टिलेटरको सहायता घटाउँदै लगेका छौं । भेन्टिलेटर आवश्यक नपर्ने अवस्था बन्यो भने मात्रै डिस्चार्ज गर्न सक्छौं ।’

यसरी महिनौं अस्पतालको खर्च धान्ने र बेरोजगार बस्न सक्ने अंगेशको आर्थिक अवस्था होइन । उनी त भारतको हैदरावादमा मजदुरी गरिरहेका थिए । श्रीमती बेहोस भएको ६ दिनपछि माघ ९ मा मात्रै उनलाई थाहा भयो । ‘मलाई कसैले पनि केही भनेको थिएन । श्रीमती अस्पतालमा बेहोस थिइन् । आमाले फोन लगाउन सक्नुहुन्न, त्यसैले कुराकानी गर्नै ढिला भयो,’ उनी भन्छन्, ‘एक दिन फोन लाग्नासाथ आमाले बुहारी त मरिसकी, छिटो आइज भनेर बोलाउनुभयो ।’

उनी तुरुन्तै गाडी चढेर जनकपुर पुगेका थिए । कसरी जनकपुर आइपुगें भन्ने उनलाई थाहा छैन । उनले सुनेजस्तै श्रीमतीको ज्यान गएको थिएन, तर म जीवित छु भन्ने अवस्थामा पनि उनी थिइनन् । जीवनको यो कठिन मोडमा उनी उपचारका लागि गरेको प्रयासबाटै पछुतो मान्छन् । 

‘जथाभावी खुलेका अस्पतालको मलाई भरोसा थिएन । त्यसैले श्रीमतीलाई काठमाडौं गएर उपचार गराउनुपर्छ भनेको थिएँ । तर मेरो भिनाजुले पित्तथैलीमा ढुंगासँगै क्यान्सर पनि हुन सक्ने बताएपछि श्रीमती आत्तिएकी थिई,’ उनले भने, ‘आफ्नो मामाको छोरा क्यान्सर भएर मृत्यु भएको देखेपछि पविताको डर बढेको थियो । तुरुन्तै गर्ने भनेर हठ गर्न थाली र भिनाजुले अस्पतालमा पुर्‍याइदिनुभयो, जहाँ यस्तो भयो ।’

Hospital in Madhesh itself in a 'coma': woman who underwent gall bladder surgery has been unconscious for 67 days

पविताको शल्यक्रिया मुस्कान अस्पतालमा डा. ज्ञानकुमार साहले गरेका हुन् । शल्यक्रिया गर्दा एनेस्थेसिया (बेहोस पार्ने औषधि) दिने विशेषज्ञ चिकित्सक अनिवार्य हुनुपर्छ । तर, पवितालाई बेहोस पार्ने औषधि कुन चिकित्सकले चलाएका हुन् भन्ने अस्पतालले स्पष्ट पार्न सकेको छैन । तर सोधखोज सुरु भएपछि डा. साहको फोन बन्द छ, उनी सम्पर्कविहीन छन् ।

पविताको उपचारको अभिलेख हेरेका एक चिकित्सकका अनुसार भने उनलाई बेहोस बनाउने औषधि दिँदा नै गडबड भएका कारण ‘हाइपोक्सिक ब्रेन इन्जुरी’ भएको सम्भावना बढी देखिन्छ । ‘हामीले यत्तिकै भन्न मिलेन तर दिमागमा अक्सिजन नपुगेर ब्रेन इन्जुरी भएको छ, त्यसको कारण एनेस्थेसिया दिँदा तलमाथि भयो भन्ने नै हो,’ ती चिकित्सक भन्छन्, ‘बेहोस बनाउन कुन औषधि दिइएको थियो ? शल्यक्रिया अवधिभर बिरामीको शरीरमा अक्सिजनको मात्रा के थियो ? यो सबै मनिटर गर्नुपर्ने हुन्छ । जसको विस्तृत जानकारी छैन । खासमा शल्यक्रिया गर्दा एनेस्थेसिस्ट नै थिए कि थिएनन् भन्ने यकिन छैन ।’

अस्पतालले यतिसम्म लापरबाही गर्न सक्छन् ? पत्याउन गाह्रो छ । तर, अंगेशको परिवार अहिले अस्पतालको लापरबाहीको मूल्य चुकाउँदै छ । ‘घरमा आर्थिक अवस्था सजिलो छैन । तर म अब काममा जाने भनेर सोच्न नसक्ने भएँ । श्रीमतीको कहिले होस आउँछ भन्ने डाक्टरलाई पनि अनुमान छैन,’ उनी भन्छन्, ‘म कसलाई के भनिरहेको छु, त्यो नै बिर्सिन थालेको छु । कोसँग के भाषा बोल्ने भन्ने पनि हेक्का हराएको छ । हिन्दी, मैथिली र नेपाली भाषामा अल्झिन थालेको छु ।’

पविताको अवस्थाले मधेश प्रदेशकै स्वास्थ्य संस्थाको ‘स्वास्थ्य’ को तस्बिर प्रस्ट पारेको छ । 

यो घटना सार्वजनिक भएपछि मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मधेशका कम्तीमा एक सय निजी अस्पताल गैरकानुनी रूपमा र मापदण्डविपरीत चलेको भेटिएको छ । कैफियत भेटिएका अस्पताल अहिले बन्द गरिएका छन् । धनुषामा २२, सर्लाहीमा २४, रौतहटमा २१, महोत्तरीमा ५, सप्तरीमा २ र पर्सामा १ यस्ता अस्पताल भेटिए, जसलाई अहिले बन्द गरिएको छ । 

मापदण्डविपरीत खोलिएका अस्पताल अहिले बन्द गरिएका छन् । तर समस्याको स्थायी सम्बोधन कसरी हुन्छ भन्ने प्रश्न पनि उठेको छ । जनकपुर अञ्चल (हाल प्रादेशिक) अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्टका साथै संविधानसभा सदस्य रहिसकेका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंह मधेशका निजी अस्पताल समस्याग्रस्त रहेको बताउँछन् । तर, उनका अनुसार अस्पताल वा स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिलाई मुख्यमन्त्रीको अनुगमन मात्रैले सुधार्न भने सम्भव छैन । ‘मुख्यमन्त्रीले जे गरिरहनुभएको छ त्यो पूर्ण रूपमा बेठिक छ पनि म भन्दिनँ । तर, मुख्य कुरा भनेको यहाँका स्वास्थ्य संस्थाको अनुगमनको जिम्मा लिएका निकायहरूले के गरिरहेका छन् भन्ने हो,’ उनी भन्छन्, ‘यो अवस्थामा सुधार गर्न स्थानीय र प्रदेश तहमा रहेका अनुगमन संयन्त्रलाई सक्रिय बनाउनुपर्छ । नभए अहिले मुख्यमन्त्रीको अभियान सेलाएर जान्छ, अस्पतालको अवस्था उस्तै रहन्छ ।’

मुख्यमन्त्री सिंह भने कर्मचारी तहबाट कहिलेकाहीं हुने अनुगमनलाई बीचमै दबाइने गरिएकाले यस्तो बेथिति रहेको बताउँछन् । ‘कर्मचारी लेबलमा हुने गरेको थोरबहुत अनुगमनलाई सायद नेतृत्वकै इसारामा अवरोध गरिएको थियो । कुनै अस्पतालहरूका विषयमा चुप लागेर बस भनिएको होला । दरिलो अनुगमन नहुँदा जसले जे गर्दा पनि केही नहुने रहेछ भन्ने भ्रम पलाएको थियो । त्यसैले त दर्ताबिना नै अस्पतालहरू निर्बाध सञ्चालनमा थिए,’ उनी भन्छन् ।  

मुख्यमन्त्रीको यति ठूलो अभियानबीच पनि अंगेश र पविताले सान्त्वना पाएका छैनन् । अंगेश उपचारका लागि रकम जोहो गर्न भौंतारिरहेका छन् भने पविता होसमा आउन नै संघर्षरत छिन् । अंगेशका अनुसार पविता बेहोस भएको ६५ दिनयता मात्रै करिब १६ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘अब त गाउँकाले ऋण पत्याउन पनि छोडे । भएको ५/६ कट्ठा जग्गा पनि सकियो । केही बाँकी छैन,’ भन्छन्, ‘पवितालाई यो अवस्थामा पुर्‍याउने अस्पतालले एक लाख मात्रै दिएको छ अहिलेसम्म । बाँकी उपचार कसरी गर्ने भन्ने सोच्न पनि सकेको छैन ।’

अंगेशले जग्गाजमिन अरूलाई जिम्मा लगाइसके । तर, केएमसीको फार्मेसीमा तिर्नुपर्ने रकम १ लाख २० हजार पुगेको छ । थप औषधिका लागि फार्मेसीले डिपोजिट पनि थप्न भनेको छ । तर, उनलाई खाना–खाजाकै रकम अपुग हुन थालेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार अहिले उपचारका लागि मुस्कान अस्पतालले सहयोग गर्ने र पविताको स्वास्थ्य अवस्थाका आधारमा बाँकी क्षतिपूर्तिको टुंगो लगाउने सहमति भएको थियो । उनका अनुसार हाललाई अस्पतालले उपचार खर्चबापत ५ लाख दिने सहमति भएको थियो । तर अंगेशका अनुसार भने एक लाख दिएर अस्पतालका सञ्चालकहरू सम्पर्कविहीन भएका छन् । 

(साथमा शिव पुरी र सन्तोष सिंह)

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully