आज देश-दुनियाँमा के-के भयो ?

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — भारत-पाक युद्ध प्रभाव : ‘चिकेन नेक’मा भारतले बढायो सैन्य गतिविधि, पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी, सीमा क्षेत्रमा यसरी गर्दैछ एपीएफले पेट्रोलिङदेखि राजावादी समूहको घोषणा : जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनसम्मका खबर चर्चामा रहे । 

०००

पाकिस्तानसँगको युद्ध बढ्दै गएपछि भारतीय सुरक्षा संयन्त्रले सामरिक दृष्टिले संवेदनशील मानिने ‘चिकेन नेक’ क्षेत्रमा सैन्य सुरक्षा गतिविधि बढाएको छ ।  पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी नेपाल, भुटान र बंगलादेश जोड्ने ‘ट्रान्जिट’ प्वाइन्ट हो । यहाँबाटै भारतको सामरिक महत्त्वको संवेदनशील क्षेत्र पूर्वोत्तर समेत जोडिन्छ । त्यसले सिलिगुडीलाई ‘गेट वे अफ नर्थ इस्ट’ पनि भनिन्छ । 

०००

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले भारतीय सेनाले पाकिस्तानका ‘धेरै स्थान’ मा रहेका हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरेको जनाएको छ । त्यस्तै पाकिस्तानी सेनाले बिहीबार बिहानयता भारतले प्रहार गरेका २५ वटा ड्रोन खसालेको दाबी गरेको छ ।  

०००

भारत र पाकिस्तानबीच तनाव चर्किएपछि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो । भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले पेट्रोलिङ गरिरहेको छ । 

०००

राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुन:स्थापना लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुनस्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्नेु घोषणा गरेका हुन् । 

०००

पाकिस्तानसँगको युद्ध बढ्दै गएपछि भारतको उत्तरी सहर धर्मशालामा आइतबार हुने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल सारिएको छ । गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेल गुजरातको अहमदाबाद सहरमा हुनेछ । 

कान्तिपुर

Link copied successfully