काठमाडौँ — महिलालाई समान रुपले हेर्न, यौनिक तथा अल्पसंख्यक समुदायलाई सुरक्षित राख्न नीति स्तरमै काम गर्नुपर्ने धारणा राख्छिन्, ‘मिस ट्रान्स नेपाल २०२४’ अनमोल रानी राई । यो समूहको विषयमा पाठ्यक्रममै सहमति, आदर गर्न, स्वतन्त्रकाका विषयमा सिकाइनुपर्ने पनि उनको भनाइ छ ।
‘अर्को त उहाँहरुका लागि राम्रो स्वास्थ उपचार हुनपर्छ, जहाँ महिला र यौनिक तथा अल्पसंख्यकले आफूलाई सुरक्षित महसुस गरुन् । स्वास्थ्यमा उहाँहरुको पहुँच हुनुपर्यो,’ अनमोलले भनिन् ।
अनमोलले आफ्नो यौनिक पहिचानबारे बुझ्न खोज्दा सहयोग गरिदिनेहरु भेटिनन् । यौनिक तथा अल्पसैंख्यकका मुद्दामाथि बुझ्नेहरु कम हुँदा ‘जेन्डर डिस्मोरमिया’बाट बाहिर आउन गलत औषधि प्रयोग पनि गर्दै आइरहेको पनि उनले बताइन् । ‘कतिले ट्रान्स पुरुषको महिनावारी हुँदैन भन्ने ठान्छन् । तर, कति ट्रान्स पुरुषको महिनावारी हुने गर्दछ । त्यसैले उनीहरुका लागि त्यसै किसिमको स्वास्थ्य उपचार हुने सुरक्षित स्थान हुनुपर्छ,’ उनले भनिन् ।
यौनिक तथा अल्पसंख्यक समुदायलाई मिडियामै पनि सकरात्मक प्रतिनिधित्त्व हुनुपर्ने भनाइ राख्छिन्, अनमोल । ‘प्राइड मन्थमा मात्र मेरो अस्तित्त्व हुने होइन । म अरुबेला पनि त यही समुदायको हुन्छु । हामीलाई अन्तरवार्तामै पनि असंवेदनशील प्रश्नहरु सोधिन्छन्,’ अनमोलले भनिन् ।
