महिलाको विचारलाई समाजले स्वीकार्दैन : अधिवक्ता रोशनी पौड्याल

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Society does not accept women's views: Advocate Roshni Paudyal

काठमाडौँ — अधिवक्ता एवं त्रिभुवन विश्वविद्यालयकी सह-प्राध्यापक रोशनी पौड्याल महिलाका विचारलाई स्वीकार गर्न समाज तयार नरहेको धारणा राख्छिन् ।

'निर्भिक नारी'को पाँचौं सँस्करणको पहिलो सत्र ‘अदृश्य अवरोध’शीर्षकमा आयोजित बहसमा अधिवक्ता पौड्यालले महिलाले आफूमाथि भएको अन्यायविरुद्ध बोल्दा उनीहरुलाई नै दोष लगाउने प्रवृत्ति कायम रहेको बताइन् । 

संविधान र कानुनका हिसाबले महिला सशक्तीकरण र लैङ्गिक समानताका पक्षमा धेरै अगाडि पुगे पनि आम महिलाले अधिकारको लडाइँमा अदृश्य अवरोधहरु सामना गर्नुपरेको पनि पौड्याले बताइन् । ‘मलाई अन्याय भयो, अथवा कुनै विषयमा मेरो यो विचार छ भन्दा स्वीकार गर्दैनन् । समाज मात्रै होइन सामाजिक सञ्जालमा महिलाले आफूलाई गाह्रो भयो भन्दा पहिला उसैलाई नै दोषी देखाइन्छ,’ पौड्यालले भनिन्,’ पीडितको कुरा सुन्नुभन्दा पहिल्यै उसलाई गलत देखाइन्छन् । मेरो आवाज सुन्नका लागि अहिले पनि समाज तयार छ जस्तो लाग्दैन । अहिले पनि हाम्रो विचारलाई स्वीकार गर्न समाज तयार छैन ।‘ पीडितलाई दोषी देख्ने ‘ब्लेमिङ कल्चर’ अझै नेपाली समाजमा रहेको पौड्यालको दाबी छ । 

‘आम महिलाको अधिकारका लागि लड्दा आफ्नो व्यक्तिगत लडाइँ सँगसँगै लडिरहेजस्तो लाग्छ । महिलाले बाहिर काम गर्ने भनेको लक्जरीको रुपमा मात्र हेरिन्छ । गाह्रो भइहाल्यो आफ्नै इच्छाले त हो नि भनिदिन्छन् । नागरिकका हिसाबले म आफैंलाई शसक्त बनाउन र मेरो देशका लागि योगदान दिन सक्छु भन्ने विचार नै निर्माण भइसकेको छैन,’उनले थपिन् । 

पौड्याल आफूलाई नेपालको सचेत नागरिकका रुपमा परिचय दिन रुचाउँछिन् । ‘सीमित उदेश्य र सपनामा सानैदेखि निर्धक्क थिएँ । केही बन्नुपर्छ भन्ने थियो त्यतिबेलैदेखि । ममा भएका क्षमता र सचेत नागरिकका हिसाबले समाजमा पनि केही योगदान दिनुपर्छ भन्ने निर्धक्क महिलाका रुपमा परिचय गराउन चाहन्छु,’ पौड्यालले सुनाइन् ।

कान्तिपुर

Link copied successfully