काठमाडौँ — एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय, बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ६ विरुद्ध डेढ अर्बको वनमुद्दा दायरदेखि पाकिस्तानद्वारा भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगितसम्मका खबर आज चर्चामा रहे ।
000
अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशको आर्थिकस्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द हुने भएको हो ।
000
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।
000
सर्लाहीस्थित सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला वन कार्यालय सर्लाहीले बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, उपमेयर लीलाकुमारी मोक्तानसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको छ । वन कार्यालयले थापा र मोक्तानसहित तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका तत्कालिन इन्जिनियर सागर पौडेलविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
000
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाडौं टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा उनले लामो स्टाटस लेख्दै नक्सापासदेखि कसरी अनियमितता भयो भन्ने आफ्नो दाबी उल्लेख गरेका छन् ।
000
जम्मू-कश्मीरस्थित पहलगाम गरिएको आतंककारी आक्रमणपछि भारतले चालेको प्रतिशोधात्मक कदमको पाकिस्तानले प्रतिक्रिया जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।
