काठमाडौं टावर निर्माणमा नीतिगत भ्रष्टाचार भएको बालेनको आरोप

'नक्सापास प्रक्रियामा धेरै गम्भीर त्रुटि भेटिएको र महानगरलाई आर्थिक क्षति पुर्‍याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ'

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Balen's allegation of political corruption in the construction of Kathmandu Tower

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठामाडौं टावर) मा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा उनले लामो स्टाटस लेख्दै नक्सापासदेखि कसरी अनियमितता भयो भन्ने आफ्नो दाबी उल्लेख गरेका छन् । उनले महानगरलाई १ अर्बभन्दा बढीको आर्थिक क्षति हुन सक्ने र ठेकेदारलाई अर्बौंको फाइदा पुग्ने दाबी पनि गरेका छन् । यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको आरोप छ ।

वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन हुनुपर्नेमा बेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको उनले उल्लेख गरेका छन् ।

भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटि भेटिएको र महानगरलाई आर्थिक क्षति पुर्‍याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ ।

'⁠टावर निर्माण सुरु गर्नुभन्दा पहिला २०७२ असार २२ मा काठमाडौं  उपत्यका विकास प्राधिकरणले फार बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्लाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएको थियो । तर तला थप प्रक्रियामा प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन,' उनले प्रश्न गरेका छन्, '१२ तलालाई १९ तला बनाउदा पुन: प्लानिङ पर्मिट लिनु नपर्ने हो ? तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्यांकन गर्नु नपर्ने हो ?'

भवन निर्माणमा धेरै कुरामा लापरबाही, जबरजस्ती र अवैधानिक काम भएकाले यसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढेको प्रमुख शाहले उल्लेख गरेका छन् ।

कान्तिपुर

Link copied successfully