बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ६ विरुद्ध डेढ अर्बको वनमुद्दा दायर

सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला अदालत मलंगवामा मुद्दा दायर

वैशाख ११, २०८२

कान्तिपुर संवादादाता

A case of one and a half billion was filed against 6 including the suspended mayor of Bagmati Municipality, Bharat Thapa

काठमाडौँ — सर्लाहीस्थित सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला वन कार्यालय सर्लाहीले बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, उपमेयर लीलाकुमारी मोक्तानसहितलाई प्रतिवादी बनाएर जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको छ ।

वन कार्यालयले थापा र मोक्तानसहित तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका तत्कालिन इन्जिनियर सागर पौडेलविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । थापा गत स्थानीय तह निर्वाचनमा माओवादीबाट मेयरमा निर्वाचित भएका थिए ।

बागमती नगरपालिकको वडा नम्बर ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मुर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको जग्गा नगरपालिकाका कर्मचारी र पदाधिकारीको मिलेमतोमा निजी ताल निर्माण गर्न स्वीकृति दिएको अभियोगपत्रमा उल्लेख छ । बागमती माछापोखरी प्रथम (भरतताल ) अन्तर्गत ३५‍.२० हेक्टर, निर्माणाधीन दोस्रो पोखरी बनाउँदा ३२‍‍.६० हेक्टर, बागबानी आँप बगैंचा बनाउँदा ६६.७० हेक्टर, ताल वरिपरिको बाटो र अरू भौतिक संरचना बनाउँदा ३८.५० हेक्टर गरी ताल क्षेत्रको कुल १७३ हेक्टर तथा कृषि र बस्ती क्षेत्र लगायतमा करिब ८१५.२० हेक्टर गरी ९८८.२० हेक्टर वनको जग्गा अतिक्रमणमा परेको अभियोगपत्रमा उल्लेख छ ।

गैरकानुनी रूपमा ताल निर्माण गरेको अभियोगमै २०८१ जेठ २९ मा निलम्बित मेयर थापा र उपमेयर मोक्तान सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ । त्यसको किनारा नलाग्दै जिल्ला वन कार्यालय सर्लाहीले पनि उनीहरुविरुद्ध वन अतिक्रमणको गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

कान्तिपुर

Link copied successfully