पाकिस्तानद्वारा भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

‘कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यविना’ पहलगाम आक्रमणमा पाकिस्तानलाई जोड्ने प्रयास व्यर्थ र तर्कहीन’

वैशाख ११, २०८२

एजेन्सी

Suspension of trade, air flights and all bilateral agreements with India by Pakistan

इस्लामावाद — जम्मू-कश्मीरस्थित पहलगाम गरिएको आतंककारी आक्रमणपछि भारतले चालेको प्रतिशोधात्मक कदमको पाकिस्तानले प्रतिक्रिया जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।

भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरा अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी दिएको छ । ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्,’ विज्ञप्तीमा भनिएको छ । 

भारतले आतंककारी आक्रमणमा पाकिस्तानको हात रहेको दाबी गर्दै बुधबार पाँच-बुँदे कूटनीतिक कदम चालेकोमा कडा आलोचना गरेको छ । भारतीय निर्णय ‘एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित’ भएको पाकिस्तानको भनाइ छ । 

प्रधानमन्त्री शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा ‘कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यविना’ पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास ‘व्यर्थ, तर्कहीन र पराजित मानसिकता’ भएको उल्लेख छ । 

भारतीय कदमको जवाफस्वरूप पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्‍याइएको छ । त्यस्तै भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिइएको छ । 

त्यसैगरी पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा-संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ । 

पहलगाम घटनापछी भारतले नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति (पर्सन नन ग्रान्टा) ठहर्‍याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । त्यस्तै पाकिस्तानको राजधानी इस्लामाबादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धिलाई पनि स्थगित गर्ने निर्णय गरेको थियो । भारत र पाकिस्तानबीच सन् १९६० मा भएको सिन्धु जल सन्धि सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ । दुई देशबीच पटक–पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन ।

पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको थियो । सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको थियो । 

एजेन्सी

Link copied successfully