आज दिनभर देश-दुनियाँमा के-के भयो ?

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — शिक्षा सचिवको निर्देशनमा कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने निर्णय, शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्री ओलीको भनाइदेखि युक्रेनसँग द्विपक्षीय वार्ता गर्न पुटिन तयारसम्मका खबर आज चर्चामा रहे ।  

000

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सार्ने प्रस्तावसहित मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक डाकियो । बोर्डका सदस्यहरूले बैठकमा जानुअघि परीक्षा सार्ने विषयमा छलफल गर्न बैठक बोलाएको बताएका थिए । तर, बैठकमा शिक्षा सचिव दीपक काफ्लेले कर्मचारी परिचालन गरेर भए पनि वैशाख ११ देखि नै परीक्षा सञ्चालन गर्न निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ । 

000

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाए । 

000

भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरले नेपाल जलविद्युत् क्षेत्रमा अपार सम्भावना रहेको भन्दै ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताएका छन्। उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए। भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको पनि उनले बताए। 

000

ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग ९एनएसएल० को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई तामझामसहित सम्मान पनि गरिएको छ ।

000

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ताका लागि खुला रहेको संकेत दिएका छन् । सोमबार रुसी सरकारी टिभीसँग कुरा गर्दै पुटिनले भने कि रुसले ‘कुनै पनि शान्ति पहललाई सधैं सकारात्मक रूपमा हेरेको छ । हामी आशा गर्छौं कि किभ शासनका प्रतिनिधिले पनि त्यस्तै महसुस गर्नेछन् ।’  

कान्तिपुर

Link copied successfully