नेपाल जलविद्युत् क्षेत्रमा अपार सम्भावना भएको मुलुक हो : भारतका विद्युत्‌मन्त्री खट्टर

अरुण तेस्रो, देशकै महत्त्वपूर्ण आयोजना : ऊर्जामन्त्री खड्का

वैशाख ९, २०८२

दीपेन्द्र शाक्य

Nepal is a country with immense potential in the hydropower sector: India's Electricity Minister Khattar

संखुवासभा — भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरले नेपाल जलविद्युत् क्षेत्रमा अपार सम्भावना रहेको भन्दै ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताएका छन्। उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए। भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको पनि उनले बताए।

ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका मन्त्री खट्टरले संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका हुन्। भारतीय लगानीमा निर्माण भइरहेको उक्त आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गरिएको थियो।

सोही अवसरमा दुवै मन्त्रीले आयोजनाको ‘युनिट–२’ संयुक्त रूपमा उद्घाटन गरे।

अवलोकनका क्रममा उनीहरूले ठेकेदार कम्पनीसँग आयोजनाको हालसम्मको प्रगति र निर्माणक्रममा देखिएका समस्याबारे जानकारी लिएका थिए।

ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले अरुण तेस्रो जलविद्युत् आयोजना देशकै महत्त्वपूर्ण आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। आयोजनाका लागि सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो ९०० मेगावाट क्षमताको आयोजना हो। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७५ साल वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। करिब एक खर्ब चार अर्ब रुपैयाँ लागतमा निर्माण हुने यो आयोजना भारतीय सतलज हाईड्रोपावर कम्पनीले निर्माण गर्दैछ।

अवलोकन भ्रमणपछि मन्त्रीद्वय नेपाली सेनाको हेलिकप्टरमार्फत राजधानी फर्किएका छन्।

दीपेन्द्र शाक्य

Link copied successfully