शिक्षा सचिवको निर्देशनमा कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने निर्णय

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Decision on deputation of civil servants in class 12 examination under the direction of Education Secretary

काठमाडौँ — शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सार्ने प्रस्तावसहित मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक डाकियो । बोर्डका सदस्यहरूले बैठकमा जानुअघि 'परीक्षा सार्ने विषयमा छलफल गर्न बैठक बोलाएको' बताएका थिए ।

तर, बैठकमा शिक्षा सचिव दीपक काफ्लेले कर्मचारी परिचालन गरेर भए पनि वैशाख ११ देखि नै परीक्षा सञ्चालन गर्न निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

अध्यक्ष महाश्रम शर्माले समेत कम्तीमा ७ दिन परीक्षा सार्न सकिने अनौपचारिक संवाद आफू निकटस्थसँग गर्दै आएका थिए । तर शिक्षामन्त्रीको राजीनामापछि बैठकमा सहभागी हुन पुगेका शिक्षा सचिव काफ्लेले परीक्षा गराउनुपर्ने अडान लिएको एक सदस्यले बताए । ‘माथि प्रधानमन्त्री, मुख्यसचिवको कुरा पनि परीक्षा गराउनुपर्छ भन्ने छ । शिक्षा सचिवले सीडीओमार्फत कर्मचारी खटाएर परीक्षा लिन सकिन्छ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि बैठकमा सबैले हुन्छ, हुन्छ भन्नुभयो ।’

बोर्डमा शिक्षा सचिव उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारी जिल्लास्थित परीक्षा समन्वय समितिको प्रमुख रहने व्यवस्था छ । 

अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पुनः आग्रह गर्ने र सहभागी नभए अन्य विकल्पबाट पनि परीक्षा अघि बढाउने निर्णय भएको बताए । परीक्षा सञ्चालन हुन ४८ घण्टाभन्दा थोरै समय भए पनि केन्द्राध्यक्ष, निरीक्षक चयन हुन सकेका छैनन् भने उनीहरुलाई तालिम, अभिमुखीकरण लगायत पनि दिइएको छैन ।

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ । देशभरका १ हजार ५ सय ९१ परीक्षा केन्द्रमा ५ लाख १९ हजार विद्यार्थीले परीक्षा दिने तयारीमा छन् । परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी २० हजार जनशक्ति परिचालन हुने अनुमान छ ।

कान्तिपुर

Link copied successfully