युक्रेनसँग द्विपक्षीय वार्ता गर्न पुटिन तयार 

वैशाख ९, २०८२

एजेन्सी

Putin ready to hold bilateral talks with Ukraine

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ताका लागि खुला रहेको संकेत दिएका छन् । सोमबार रुसी सरकारी टिभीसँग कुरा गर्दै पुटिनले भने कि रुसले ‘कुनै पनि शान्ति पहललाई सधैं सकारात्मक रूपमा हेरेको छ । हामी आशा गर्छौं कि किभ शासनका प्रतिनिधिले पनि त्यस्तै महसुस गर्नेछन् ।’ 

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको टिप्पणीले नागरिक निशानामा प्रहार नगर्ने बारेमा युक्रेनसँग प्रत्यक्ष वार्तामा संलग्न हुने इच्छालाई संकेत गरेको बताएका हुन् । ‘राष्ट्रपतिले नागरिक लक्ष्यहरूमा प्रहार नगर्ने विषयमा द्विपक्षीय छलफल गर्न सम्भव भन्नुको अर्थ युक्रेनी पक्षसँग वार्ता र छलफललाई ध्यानमा राखेको प्रष्ट हुन्छ,’ इन्टरफ्याक्स समाचार एजेन्सीसँग पेस्कोभले भने । 

जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन् । तर उनले नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि कुराकानीका लागि युक्रेन तयार रहेको बताएका छन् । फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा पूर्ण-स्तरीय आक्रमण सुरू गरेको केही सातादेखि दुवै पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन । 

भिडियो सम्बोधनमा जेलेन्स्कीले नागरिक पूर्वाधारमा आक्रमण रोक्न सहमत हुने वा नहुने विषयमा युक्रेनलाई ‘मस्कोबाट स्पष्ट जवाफ चाहिने’ बताएका छन् । इस्टरमा पुटिनले घोषणा गरेको छोटो अवधिको र सीमित युद्धविरामलाई सम्बोधन गर्दै उनले कम्तिमा ३० दिनका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र क्षेप्यास्त्रहरू प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गरेका छन् ।

एजेन्सी

Link copied successfully