दाउन्नेमा ग्राभेल गरेर चाँडो यातायात खुलाउन ठेकेदारलाई मन्त्रीको निर्देशन

वैशाख ५, २०८२

नारायण शर्मा

Minister's instructions to the contractor to open the traffic soon by gravelling the valley

नवलपरासी — दाउन्नेमा सामान्य वर्षा हुनासाथ हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ठेकेदारसँग छलफल गरेका छन्।

मन्त्रीका स्वकीय सचिव मनोज दाहालले टेलिफोनमार्फत दिएको जानकारी अनुसार मन्त्री, सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनको एक होटलमा शुक्रबार बिहान छलफल भएको हो।

बिहीबार मन्त्री दाहाल महेन्द्रराजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किएका थिए। फर्कने क्रममा करिब ४ घन्टा जाममा परेपछि शुक्रबार बिहान ठेकेदारसँग छलफलमा जुटेका हुन्।

देशकै मुख्य राजमार्गको दाउन्ने खण्डमा तत्काल सडक सम्याउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको जानकारी स्वकीय सचिव दाहालले दिएका छन्। उनले भने, 'राजमार्ग तत्काल पुनः अवरुद्ध नहोस् भन्दै तत्काल काम गर्न मन्त्रीले ठेकेदारलाई निर्देशन दिनुभएको छ ।'

छलफलमा दाउन्ने पहाडको राजमार्ग पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्नेमा तत्काल यातायात सुचारु गर्न आवश्यक पर्ने ग्राभेल आफ्नै पालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै चिनियाँ ठेकेदारलाई आश्वस्त हुन भनेका थिए  ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully