नारायणगढ–बुटवल सडक : दाउन्नेमा सडक चिप्लिएको कारण २१ घन्टादेखि यातायात ठप्प

सडक ठप्प भएपछि भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि बिहीबार चार घन्टाको जाममा परेका छन्। उनलाई प्रहरीले स्कर्टिङ गरेर राति ८ बजे चितवन पुर्‍याएको थियो।

वैशाख ५, २०८२

नारायण शर्मा

Narayangadh-Butwal Road: Traffic has been blocked for 21 hours due to slippage in the road

नवलपरासी — नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो भएर २१ घन्टादेखि यातायात ठप्प बनेको छ। पूर्वी नवलपरासीको बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १४ किलोमिटर सडक खण्ड अवरुद्ध बनेको हो।

बिहीबार बिहान पानी परेपछि दाउन्नेको घ्यु खोला नजिक सडक चिप्लो भएका कारण सवारी आवागमन हुन सकेको छैन। जसका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने हजारौँ यात्रु अलपत्र परेका छन्।

बिहीबार बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको र हालसम्म पनि यातायात सुचारु नभएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए। उनका अनुसार दुम्कीबास नजिकैको घ्यु खोलामा राजमार्ग चिप्लिएको कारण सडकमा जाम भएको हो। राजमार्ग फराकिलो बनाउने क्रममा भत्काइएको सडकमा करिब ३ फिट अग्लो धुलो जमेको थियो। पानी परेपछि त्यो धुलो हिलो बनेर सडक चिप्लो भएको हो।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका थिए। मन्त्री दाहाललाई प्रहरीले उद्धार गरेर राति ८ बजे चितवन पुर्‍याएको थियो। बुटवलबाट नारायणगढ जाँदै गरेका मन्त्री दाहाल दाउन्नेमा जाममा फसेका थिए।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully