दाउन्नेमा हिलाम्मे सडक : साना गाडी एकतर्फी सञ्चालनमा

चैत्र २८, २०८१

नारायण शर्मा

Hillame Road in Daunne: Small vehicles in one way operation

नवलपरासी पूर्व — झरीले हिलाम्मे अवरुद्ध रहेको दाउन्नेमा अहिले ३ बजेदेखि साना गाडी एकतर्फी रूपमा चलेका छन् । बिहान सामान्य झरी पर्दा हिलाम्मे सडकले गर्दा यातायात अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी प्रमुख यादव ढकालले अहिले ३ बजेदेखि साना गाडी मात्र एकतर्फी पठाइएको जानकारी दिए । हिलाम्मे सडकका कारण ठूला र मालवाहक गाडी चल्ने अवस्था नरहेको उनको भनाइ छ ।

'घाम लागेर हिलो नसुकेसम्म ठूला गाडी चल्न सक्ने अवस्था छैन,' उनले भने । राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको दाउन्ने सडक खण्डमा २-३ फिटसम्म धुलो छ ।

पानी परेका कारण धुलेसडक हिलाम्मे भएर गाडी चिप्लिने अवस्था रहेको छ । दाउन्नेमा असहज भएका कारण दुम्कीवासदेखि पूर्व र बर्दघाटदेखि पश्चिम क्षेत्रमा सयौं गाडी रोकिएका छन् । 

सडक मर्मतको कामका लागि हरेक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म राजमार्गमा यातायात बन्द गरिएको छ । बन्दका बेलामा राजमार्गमा ग्राभेल र बालुवा हालेर गाडी चल्न सहज हुने गरी काम गराइएको ढकालले जानकारी दिए । 'मर्मत गर्ने र राजमार्ग खुलाउने प्रयास जारी छ,' उनले भने, 'धेरै गाडी दाउन्ने र बर्दघाट क्षेत्रमा थुप्रीएका कारण समस्या थपिएको छ ।' 

दाउन्ने सडक खण्डमा दैनिक झन्डै १८ हजार गाडी चल्छन्  । राजमार्गमा धुलो भएका कारण दाउन्ने सडकखण्डका १४ किलोमिटर क्षेत्र पार गर्न कम्तीमा २ घण्टा लाग्छ । बिहीबार सडक हिलाम्मे भएका कारण दाउन्ने वारपार गर्न कम्तीमा ४, ५ घण्टा लाग्ने गरेको सवारीचालक बताउँछन् ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully