आज देश दुनियाँमा के-के भयो ?

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणका निर्देशक अधिकारीलाई तत्काल निलम्बन गर्न संसदीय उपसमितिको सिफारिस, हुम्लामा अत्यधिक वर्षा : बाढीपहिरोले घरगोठ भत्किए, पशुचौपाया मरे, आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमादेखि उच्च अदालतले दियो बम्जनलाई सफाइसम्मका खबर आज चर्चामा रहे ।

000

नेपाल नागरिक उड्डयन प्राधिकरका निर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न गठन गरेको उपसमितिले सिफारिस गरेको छ । राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता भएको दाबीसहित निर्देशक अधिकारीसहितलाई कारबाहीका लागि सिफारिस गरेको हो । 

000

हुम्लामा बिहीबार बिहानको वर्षापछि बाढीपहिरोले क्षति पुर्‍याएको छ । अदानचुली गाउँपालिका वडा नम्बर २ र ३ मा वर्षाले क्षति गरेको हुम्लामा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।कान्तिपुरसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, 'आज बिहान अदानचुली-२ र ३ मा अलि ठूलै पानी पर्‍यो । केही घरहरूमा पनि क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको छ ।' 

000

उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा जिल्ला अदालतबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । 

000

सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो । 

000

अमेरिका र चीनबीचको आरोप–प्रत्यारोप बढेसँगै व्यापार युद्ध थप चर्किने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै वार्ता गर्ने–नगर्ने चीनको हातमा रहेको बताएका छन् । ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully