उच्च अदालतले बम्जनलाई सफाइ दिँदै भन्यो- हदम्याद नाघेपछि मुद्दा लाग्दैन

वैशाख ४, २०८२

घनश्याम खड्का, कमलेश ठाकुर

The High Court acquitted Bamjan and said that the case will not be filed after exceeding the limit

काठमाडौं, जनकपुर — उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा जिल्ला अदालतबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै सफाइ दिएको छ ।

जिल्ला अदालत सर्लाहीले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसमाथि भएको पुनरावेदनमा न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिनाले जिल्ला अदालतको सजाय लागू हुन नसक्ने फैसला गरेको हो । 

गएको चैत ६ गते फैसला भएको उक्त मुद्दाको बिहीबार (आज) पूर्णपाठ आएको छ । पूर्णपाठमा प्रचलित कानुनअनुसार हदम्यादभित्र अभियोगपत्र दायर नभएको भएको जिकिर गरिएको छ । २०७३ साउन २० गते उक्त घटना भएको थियो । त्यतिबेला प्रचलित कानुनअनुसार जबर्जस्ती करणी कसुरका लागि ६ महिना हदम्याद रहेको थियो ।

सो हदम्यादअनुसार वादी पक्षले २०७३ माघ १९ गतेभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने थियो । तर, पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । सो समयसम्म हदम्याद नाघेको र पीडित तत्कालीन बालबालिका ऐन, २०४८ अनुसार १६ वर्ष पुगेर बालिग भइसकेको पूर्णपाठमा उल्लेख गरिएको छ । पीडित ०७४ असार १९ मै १६ वर्ष पुगिसकेको फैसलामा भनिएको छ । 

‘सुरु सर्लाही अदालतको फैसला नमिलेकोले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’पूर्णपाठमा उल्लेख गरिएको छ,‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।’ 

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७४ अनुसार हदम्याद कायम गरी अभियोगको विषयबस्तुमा प्रवेश गरी इन्साफ गरेको भए पनि सो नमिलेको र प्रस्थान विन्दु (हदम्याद) नै गलत भएपछि गर्न खोजिएका सबै काम कारबाही कानुनसम्मत नभई त्रुटिपूर्ण हुने फैसलामा उल्लेख गरिएको छ ।

यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसलासहित बम्जनलाई दोषी ठहर गरेको थियो । त्यतिबेला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए । यद्यपि यही मुद्दामा उनका चेला गुरु भन्ने जितबहादुर तमाङ र ताप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जनलाई सफाइ दिएको थियो । उनीहरू वारदातको समय उपस्थित नभएको फैसलामा लेखिएको छ ।

२०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा दर्ता भएको मुद्दा २०८१ असार १७ गते आंशिक दाबी पुगेको फैसला गरेका थिए । त्यसपछि उक्त फैसलामा असन्तुष्टि जनाउँदै बम्जनले २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदनमा गएका थिए ।  

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully