आज देश दुनियाँमा के-के भयो ?

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — बिहीबार इकान्तिपुरमा त्रिविका उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत भएको देखि ओली सरकारले काम गर्न नसकेको कांग्रेस महामन्त्री गगन थापाको आरोपसम्मका समाचार छापिएका छन् । त्रिविका उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । 

प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । 

राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताउँदै आएका छन् ।

त्यस्तै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । ५ हजार ५२ मत प्राप्त गर्दै मिश्र बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।

सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । सत्तारुढ दलको नेता हुनुका नाताले सरकारलाई सहयोग गरेको तर सरकारमा रहेकाहरूका कारण नै काम हुन नसकेको थापाको भनाइ छ ।

त्यस्तै वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ को काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार खुम्बु आइसफल रुटमा यस वर्षको वसन्तकालीन सिजनका लागि सफलतापूर्वक फिक्सिङ गरिएको हो । आइसफल डाक्टरको टोलीले फिक्सिङको काम सकाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएको रेसिप्रोकल भन्सारदर चीनबाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ । ट्रम्पले अघिल्लो साता घोषणा गरेको ‘जस्तालाई तस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) ९० दिनका लागि स्थगन गरेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully