सोलुखुम्बु — वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ को काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार खुम्बु आइसफल रुटमा यस वर्षको वसन्तकालीन सिजनका लागि सफलतापूर्वक फिक्सिङ गरिएको हो ।
आइसफल डाक्टरको टोलीले फिक्सिङको काम सकाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले बताए । हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्ने गरेको छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपिडिसनले गरेको जनाइएको छ । वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय मानिन्छ ।
टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित ८ जना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् । टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपीसीसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।
हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भर्याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
यसैबीच सगरमाथा प्रदूषण नियन्त्रण समितिले केही नेपाली अनलाइन न्युज पोर्टलमा हालसालै फैलिएको हिमपहिरोले रुटमा सिँढी र डोरी क्षतिग्रस्त भएको रिपोर्ट प्रकाशन गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । हिमपहिरोले रुटमा सिँढी र डोरीहरू क्षतिग्रस्त नभएको भन्दै प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले अप्रमाणित सूचना नफैलाउन सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।
पर्यटन विभागका अनुसार, फागुन १७ देखि चैत २६ गतेसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ३० देशका १ सय ३४ जनाले अनुमति लिएका छन् । यिनमा २७ महिला र १ सय ७ पुरुष छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै अनुमति लिनेमा अमेरिकाबाट ४२, चीनबाट १९, भारतबाट १७, अस्ट्रेलियाबाट ६, क्यानडा तथा ब्राजिलबाट ५/५ छन् ।
