सत्तारुढ दलको राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले टेरेन
काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
सत्तारुढ दलको नेता हुनुका नाताले सरकारलाई सहयोग गरेको तर सरकारमा रहेकाहरूका कारण नै काम हुन नसकेको थापाको भनाइ छ ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्री र मन्त्रीले आ-आफ्नो काम गर्नुपर्नेमा त्यसो हुन नसकेको पनि बताएका छन् । सत्तारुढ दलका राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले नटेर्ने गरेको उनले सुनाए ।
‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु, कहिलेकाहीँ साथीहरूलाई लाग्छ- संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू क्लियर हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले होइन । नियुक्ति, सरुवा बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौं भने त यो लोकतान्त्रिक सरकार नै भएन नि !' थापाले भने, 'प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने र नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिँड मात्र तातेर केही नहुँदो रहेछ, ताप्के पनि तात्नुपर्ने रहेछ ।'
मन्त्रीहरूलाई काम चाहिएको छ भन्दा पनि नभइरहेको थापाको भनाइ थियो । 'हिजो मैले पनि मन्त्री भएको हिसाबले मन्त्री साथीहरूलाई भनिरहेको हुन्छु । हामीलाई छिटो काम चाहिएको छ तर किन भइरहेको छैन ?,’ उनले भने ।
त्यस्तै, थापाले पार्टी महाधिवेशन २०८३ मंसिरभित्र भइसक्नुपर्ने बताए । पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै उनले संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
