काठमाडौँ — आठ महिनामा साढे १० खर्ब रेमिट्यान्स, औसत मूल्यवृद्धि ३.७५ प्रतिशत, अब लोडसेडिङ नहुने ऊर्जामन्त्री खड्काको भनाइदेखि हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयीसम्मका खबर आज चर्चामा रहे ।
०००
चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिट्यान्समार्फत १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतको वृद्धि भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गत फागुनमा औसत मूल्यवृद्धिदर ३.७५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो ।
औसत मूल्यवृद्धि ३.७५ प्रतिशत, घ्यू तथा तेल सबैभन्दा महँगो
०००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । गत चैत ६ गते राष्ट्रिय सभामा साँझको समयमा लोडसेडिङ हुने बताएका मन्त्री खड्काले बुधबार एक कार्यक्रममा भने अब लोडसेडिङ नहुने बताएका हुन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना ९७८ मेगावाट० को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् ।
०००
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारीसमान निर्वाह भत्ता पाउनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
०००
युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव टम फ्लेचरले बताएका छन् । युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे ।
०००
हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो ।
